आफूसँग अरूले हारेर मिल्ने कस्तो खुसी
मान्छेले मान्छेलाई मारेर मिल्ने कस्तो खुसी
कसको साँस रोकियो कसको रोकिएन,
अरूको घर चियाएर मिल्ने कस्तो खुसी ।

मृत्युविनै जिउँदै गाडेर मिल्ने कस्तो खुसी
भूमरीमा एक्लै छाडेर मिल्ने कस्तो खुसी
कति छट्पटायो ऊ या छटपटाएन,
अरूको घर चियाएर मिल्ने कस्तो खुसी ।

अर्काको आँगन बढारेर मिल्ने कस्तो खुसी
टाउकोमाथि काल मडारेर मिल्ने कस्तो खुसी
कति बगायो आँसु या रुँदै रोएन ऊ,
अरूको घर चियाएर मिल्ने कस्तो खुसी ।

अरुमाथि शासन चलाएर मिल्ने कस्तो खुसी
सपना अरूका जलाएर मिल्ने कस्तो खुसी
कति विवश पार्न सके या सकिन,
अरूको घर चियाएर मिल्ने कस्तो खुसी ।