अत्तरिया – यस वर्षको प्रज्ञा पुरस्कारको मनोनयन सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले एक विज्ञप्ति मार्फत देशभरबाट १२ जनालाई १२ विधा र ७ प्रदेशबाट ७ जनालाई प्रादेशिक पुरस्कारका लागि छनोट गरेको जनाएको छ । जसमा सुदूरपश्चिमबाट प्रज्ञा प्रादेशिक पुरस्कारका लागि बैतडीमा कर्ण दयाल ‘सोराडी’ मनोनीत भएका छन् ।
प्रज्ञा–प्रतिष्ठानले यसअघि विधागत पुरस्कार वितरण गर्दै आएकोमा २०८२ देखि प्रादेशिक पुरस्कार वितरण गर्ने निर्णय गरेको थियो ।

विधागत तर्फ प्रज्ञा समालोचना पुरस्कारका लागि अभि सुवेदी, प्रज्ञा भाषा पुरस्कारका लागि मुकुन्द शरण उपाध्याय, प्रज्ञा सामाजिक शास्त्र पुरस्कारका लागि डा. डम्बर चेम्जोङ, प्रज्ञा साहित्य पुरस्कार (पद्य) का लागि शैलेन्द्र साकार, प्रज्ञा संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास पुरस्कारका लागि डा. सोमप्रसाद खतिवडा, प्रज्ञा बाल साहित्य पुरस्कारका लागि सुशीला प्रधानाङ्ग मनोनीत भएका छन् ।

यस्तै प्रज्ञा साहित्य पुरस्कार (गद्य) का लागि आहुति –विश्वभक्त दुलाल), प्रज्ञा दर्शन पुरस्कारका लागि इश्वरचन्द्र ज्ञवाली, प्रज्ञा अनुवाद पुरस्कारका लागि डा. सर्वोत्तम श्रेष्ठ, प्रज्ञा अन्तर्देशीय पुरस्कारका लागि नरेश काङमाङ राई (बेलायत), प्रज्ञा मातृभाषा –हिमाली पहाडी) पुरस्कारका लागि बुद्ध योञ्जन र प्रज्ञा मातृभाषा पुरस्कार (मधेस तराइ) का लागि अमरेन्द्र कुमार यादव मनोनीत भएका छन् ।
यस्तै प्रज्ञा प्रादेशिक पुरस्कारका लागि दयाल सहित मलिसा याक्युम्या लिम्बु (महेद्रकुरमा नेम्बाङ्), मुना चौधरी, शान्ति प्रिय बन्दना, अनिल श्रेष्ठ, क्षितिज मगर, रमानन्द आचार्य मनोनीत भएका छन् ।
विधागत प्रज्ञा पुरस्कारहरू मार्फत एक लाख र प्रज्ञा प्रादेशिक पुरस्कार मार्फत ५० हजार राशि प्रदान गरिने छ ।
पुरस्कारहरू वैशाख १७ गते नेपाल प्रज्ञा–प्रतिष्ठानको सिद्धिचरण सभाकक्ष कमलादी काठमाडौँ प्रदान गरिने प्रज्ञा–प्रतिष्ठानका सदस्य डा. धनप्रसाद सुबेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

















