अत्तरिया – एनएमबि बैंक अत्तरिया शाखाले चौराहमा रहेको सुदूर सिटी सेन्टरबाट सेवा प्रवाह गर्ने भएको छ । यसअघि महेन्द्रनगर रोडमा रहेको भवनबाट सेवा दिईरहेको बैंकले ग्राहकहरुको सहजताका लागि अत्तरिया चौराहमा शाखा सारेको हो । बैंकको एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले प्रदेशकै प्रस्तावित राजधानी गोदावरी नगरपालिकाभित्र विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले सेवा प्रवाह गरिरहेको बताए । उनले नागरिकको धनजनको सुरक्षा गर्न र नागरिकलाई रोजगारमुखी बनाउन बैंकिङ्ग क्षेत्रले महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको बताए । ‘यहाँ व्यापार व्यवसाय गर्न, व्यवसायीक कृषि कार्य गर्न, शिक्षा हासिल गर्न तथा अन्य विभिन्न कार्यमा बैंकहरुले सहयोग गर्दै आउनुभएको छ’ उनले भने ‘त्यतिमात्रै नभई सामाजिक उत्तरदायित्व अन्र्तगत समाजलाई पनि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भैरहेको छ ।’ उनले बैंक तथा वित्तिय संस्थाहरुले लगाएको ब्याजदरको विषयमा भने सोच्नुपर्ने बताए । ‘नगरप्रमुख भएको नाताले धेरै व्यवसायीहरुले बैंकहरुको चर्काे ब्याजदरको विषयमा गुनासाहरु ल्याउनुभएको छ’ उनले भने ‘व्यापारी व्यवसायीहरुबाट गुनासा नआउने गरी तपाईहरुले नागरिकमैत्री ब्याजदर कायम गर्नुहुनेछ भन्ने अपेक्षा छ ।’ ब्याजदर बढाउनु भन्दा त्यसलाई कम गरेर कसरी बढी सेवा प्रवाह गर्न सकिन्छ भन्ने विषयमा सोच्न उनले बैंकहरुलाई आग्रह गरेका छन ।



कार्यक्रममा बोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले बैंकले देशभर २०१ शाखामार्फत सेवा प्रवाह गरिरहेको बताए । उनले अन्य बैंक भन्दा भिन्न किसिमले सेवा प्रवाह गर्ने लक्ष्यका साथ बैंक अगाडी बढीरहेको बताए । उनले बैंकिङ्ग क्षेत्रका तिन पिल्लरमा आधारीत रहेर बैंकले सेवा प्रवाहको काम गरिरहेको समेत बताए । ‘बैंकिङ्ग भनेको छोटो अवधीका लागि र केही व्यक्तिहरुको फाईदाका हुदैन । लामो समयसम्म रहने गरी समुदायको उत्थान गर्ने र अवसरहरु सृजना गर्ने काम बैंकको हो’ उनले भने ।

चौराहमा भरखरै निर्माण सम्पन्न भएको सुदूर सिटी सेन्टरको पहिलो तल्लाबाट बैंकले आगामी दिनहरुमा सेवा प्रवाह गर्ने संस्थाका सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख श्याम अधिकारीले जानकारी दिए । उनले बैंकमा आवद्ध सेवाग्राहीहरुलाई विभिन्न बैंकिङ्ग सेवाहरु सहज रुपमा उपलब्ध गराउन शाखा व्यवस्थीत गर्नुपरेकाले पुरानो स्थानबाट शाखा सारिएको बताए । ‘हामीले यहाँ अन्य बैंकिङ्ग सेवाहरु पनि दिनेछौ, जुन पहिले थिएनन्’ उनले भने ‘नयाँ भवनमा एटिएम सेवा, लकर लगायतका सुविधाहरु पनि हामीले थपेका छौ ।’ नयाँ भवनमा कर्मचारीहरुलाई पनि काम गर्नमा सहजता आउने विश्वास व्यक्त गरे ।
करिब ३ वर्ष अघि एनएमबि बैंकसँग अत्तरियामा रहेको कञ्चन विकास बैंक मर्ज गरिएको थियो । देशका सबै प्रदेश र ति प्रदेशका विभिन्न स्थानहरुमा रहेका नागरिकहरुको सहज पहुँच पु¥याउने लक्ष्य लिएर उक्त बैंकसँग मर्जर गरिएको अधिकारीले बताए । उनले ग्राहकरुलाई थप सुविधा दिने र सेवा प्रवाहमा सहजता ल्याउने बैंकको लक्ष्य रहेको बताए । उनका अनुसार सुदूरपश्चिममा मात्रै बैंकका २० वटा शाखा र ३ वटा एक्सटेन्सन काउन्टरहरु रहेका छन ।

















