कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद
धनगढी- कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–२ ट्राफिकचोकबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३८ हजार ९ सय ५० मूल्य बराबरको लेडिज सुट, धोती, कुर्ती, लेहेङ्गा, साडी, चप्पल लगायतका सामान बरामद गरिएको हो ।
धनगढी–७ मनेहराबाट अन्दाजी ७ हजार ५ सय बराबरको ब्रोइलर कुखुरा र जोशीपुर गाउँपालिका१ पिपरकोटीबाट अन्दाजी २० हजार मूल्य बराबरको जुत्ता, चप्पल लगायतका सामान बरामद गरिएको छ । बिहीवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको हो ।
यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका–९ नेपाल भारत सीमानाकाबाट अन्दाजी ८ हजार ७ सय ५० मूल्य बराबरको माछा बरामद गरिएको छ । बिहीवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिई नष्ट गरेको बताइएको छ ।