अत्तरिया – भारतको दिल्ली जाँदै गरेका जतिन कोली अत्तरियाबाट महेन्द्रनगर जानका लागि विङ्गरमा चढ्छन् । १४ सिट क्षमताको विङ्गरमा बसेका उनी पछाडिको ४ जना अटाउने सिटको बीचमा बस्छन् । जहाँ अत्तरियाबाट ४ जना मात्रै बसेका हुन्छन । तर, विङ्गर यात्रामा हुइँकिँदै गर्दा यात्रु थपिने क्रम सुरु हुन्छ । त्यसपछि पछाडिको ४ जनाको सिटमा ६ जना चढाउन खोजिन्छ । बढी यात्रु चढाउँदा अप्ठ्यारो भयो भन्न पाइदैन । उल्टै झपार्न थाल्छन् । ‘यात्रु कोचेको गाडीमा यात्रा गर्दा निकै अप्ठ्यारो भयो’ जतिनले भने ‘सुरुमा राम्ररी बसाएका थिए । पछि ४ सिटलाई ६ जनाको सिट भन्न थाले ढोकासम्मै यात्रु कोचेर महेन्द्रनगर पु¥याए ।’

जतिन जस्तै उक्त विङ्गरमा यात्रा गर्ने सबैले सास्ती पाए । भाडा पुरै तिरे पनि क्षमताभन्दा बढी यात्रु राख्दा सबै यात्रुले सास्ती पाएको गुनासो गरेपनि कुनै सुनवाई भएन । उल्टै चालक र सहचालकले हामीले सँधै यसरी नै यात्रुलाई मिलाएर लग्ने गरेका छौ भन्दै आलटाल गरिरहेका थिए ।

बिहानको समयमा अत्तरियादेखि महेन्द्रनगर पुग्दा ३ ठाउँमा विङ्गर ट्राफिक प्रहरीको चेकिङमा पनि प¥यो । तर, प्रहरीले बाहिरबाट कागजात हेरेर पठाइरहेका थिए । भित्र कति सवारी छन भन्ने कतै पनि सोधिखोजी गरिएन ।

उल्टै प्रहरी चेकिङमा देखेपछि क्षमता भन्दा बढी चढाइएका यात्रुलाई टाउको तल गर्नुस् भनेर सहचालकले धम्कीपूर्ण शैलीमा निर्देशन दिइरहेका थिए । धनगढी अत्तरिया महेन्द्रनगर सडक खण्डमा चल्ने अधिकांश हाइस, विङ्गर, बसहरुले क्षमताभन्दा बढी यात्रु चढाउने गरेका छन । जसले गर्दा यात्रुहरूले सास्ती खेप्ने मात्रै नभएर दुर्घटनाको जोखिम समेत बढेको छ ।
यात्रु जीवन विष्टले छोटो दूरीका सवारी साधनले यात्रु कोचाकोच गर्ने गरेका भएपनि प्रहरी मुकदर्शक बन्ने गरेको बताए । उनले प्रहरीले सवारी साधनका कागजात चेकजाँच गर्ने भएपनि यात्रु कोचेको देखेर पनि वेवास्ता गर्ने गरेको बताए ।
सार्वजनिक सवारी साधनमा सिट भन्दा बढी यात्रु राख्दा कारवाही गर्ने प्रावधान हुँदा पनि त्यसो नगरीदा सवारी धनीको मनोमानी बढेको महेन्द्रनगरका सुवास भट्टले बताए । उनले क्षमता भन्दा बढी यात्रु बस चढाउने सार्वजनिक सवारी साधनलाई कारवाही गराइए यस्तो समस्या हट्ने बताए । ‘प्रहरीले सवारी साधन भित्रको अवस्था कस्तो छ । कति यात्रु बसेका छन भनेर हेर्ने नै गरेका छैनन्’ उनले भने ‘चेकजाँचका नाममा सवारी साधन रोकेपनि कागजात चेक गरेजस्तो गरेर छोड्ने गरिन्छ ।’
प्रहरीले भने क्षमता भन्दा बढी सवारी चढाएको पाइए कारवाही गर्ने गरेको दावी गर्दै आएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नेत्र मणि गिरीले क्षमता भन्दा बढी यात्रु चढाइएको पाइए जरिवाना गरेर यात्रु ओराल्ने गरेको बताए । उनले सवारी चेकजाँच भित्र सवारी साधनको क्षमता चेकजाँच पर्ने पर्ने भएकाले त्यसो गरिने उनको दावी छ ।
साना सवारी साधनमा बनाइएका अतिरिक्त सिट हटाइएको भएपनि प्रहरीको नियमित निगरानी नहुँदा क्षमता भन्दा बढी यात्रु चढाउन प्रवृत्ति भने रोकिएको छैन ।
