खाेज्नुहाेस

कैलालीको त्रिनगर भन्सार नाकाबाट कृषिजन्य वस्तुको आयात चार महिनादेखि ठप्प

Image

गोदावरी – कैलालीको त्रिनगर भन्सार नाकाबाट कृषिजन्य वस्तुको आयात चार महिनादेखि ठप्प भएको छ । सरकारले त्रिनगर भन्सारमा रहेको प्लान्ट क्वारेन्टिनको टुर मुकाम कार्यालय बन्द गरेपछि भारत भएर आयात हुने धान, गहुँ, मकै, दलहनलगायत खाद्यान्न, फलफूल, तरकारी, पशुपक्षी तथा दुग्धजन्य वस्तुको आयात गत साउन महिनादेखि ठप्प भएको हो ।

प्लान्ट क्वारेन्टिनको टुर मुकाम कार्यालयले यी वस्तुको आयात–निर्यातका लागि अनुमतिपत्र जारी गर्नेसँगै परीक्षणको कार्य गर्दै आएको छ । क्वारेन्टिन सेवा बन्द हुँदा खाद्यान्न, फलफूल, तरकारीलगायत वस्तुको आयात पूर्णरूपमा रोकिएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए ।

attariya hospital
navjiwan hospital

त्रिनगर नाकाबाट वार्षिक सवा दुई अर्बभन्दा बढी मूल्यको खाद्यान्न, तरकारी तथा फलफूल भारतबाट आयात हुने गरेको बताइएको छ । त्रिनगर भन्सार नाकाबाट कृषिजन्य वस्तुको आयात चार महिनादेखि ठप्प भएपछि भन्सार राजस्व संकलनमा समेत कमी आएको भन्सारका सूचना अधिकारी खड्काको भनाइ छ ।

कञ्चनपुरको गड्डाचौकीमा रहेको प्लान्ट क्वारेन्टिन मातहत त्रिनगर नाकामा प्लान्ट क्वारेन्टिनको टुर मुकाम कार्यालयले बिरुवा तथा बिरुवाजन्य उपजको आयात–निर्यातको अनुमति दिनुका साथै परीक्षण गर्ने काम गर्दै आएको थियो ।

केन्द्रको परिपत्रअनुसार त्रिनगर नाकाको टुर मुकाम कार्यालयबाट सेवा बन्द गरिएको थियो । त्रिनगर नाकाबाट खाद्यान्न, तरकारी, फलफूल आयात रोकिएपछि सुदूरपश्चिममा लागत मूल्यमा वृद्धि हुँदा उपभोक्ता मर्कामा परेको कैलाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवँरले बताए । त्रिनगर भन्सार नाका बन्द हुँदा अहिले नेपालगञ्ज नाकाबाट वस्तु आयात गर्नु परिरहेको उद्योगी–व्यवसायीहरूको गुनासो छ । सो नाका सञ्चालनका लागि प्रदेश सरकार, यहाँका उद्योगी व्यवसायीले पटक–पटक प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ज्ञापनपत्रसमेत बुझाउँदै आएका छन् ।

मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा केही दिनअघि पनि प्रधानमन्त्री ‘प्रचण्ड’ लाई भेट्न सुदूरपश्चिम प्रदेश सरकारको टोली बालुवाटार पुगेको थियो । टोलीलाई प्रधानमन्त्रीले त्रिनगर भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टिन सञ्चालनका लागि कर्मचारी पठाउने प्रतिबद्धता व्यक्त गरेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री नरेशबहादुर शाहीले जानकारी दिएका छन ।