अत्तरिया – धनगढी पारीको वनगाउँ बजारमा ९० प्रतिशत भन्दा बढी किनमेल गर्न नेपालीहरु पुग्छन । वारीको तुलनामा पारी बजारमा केही सस्तो सामान पाउने भएकाले नेपालीहरु त्यहाँ पुग्ने गरेका छन । भारतको उत्तर प्रदेश स्थित लखिमपुर खिरी जिल्लामा पर्ने वनगाउँमा किनमेल गर्न नेपालीको भिड लाग्ने भएपनि त्यहाँ आवतजावत गर्न भने त्यती सहज छैन् ।

दुधुवा नेशनल पार्क भित्र पर्ने यस बजारमा पुग्न साधुरो सडक पार गर्नुपर्छ । साधुरो सडक स्तरोन्नती गरेर केही सहज भएपनि गौरीफन्टा वनगाउँ जान प्रयाप्त सवारी साधन संचालनमा छैनन् । जसको फाइदा उठाउँदै सो सडकमा मोटरसाइकल चालकले ३ जना यात्रा चढाएर गौरीफन्टा वनगाउँ ओहोरदोहोर गराउदै आएका छन् । नेपालको सीमानाका गौरीफन्टाबाट करिब ३ किलोमिटर टाढा रहेको वनगाउँ ओहोरदोहोर गर्न सामान सहित ३ जना यात्रु चढाउँदा दुर्घटनाको जोखिम बढेको हो ।

धनगढीकी पार्वती भट्टले पहिले गौरीफन्टा वनगाउँ म्याजिक गाडी संचालनमा हुँदा सजह भएपनि पछिल्लो समय ति बन्द हुँदा मोटरसाइकलमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको बताइन् । ‘२ जना सवारी नहाल्दा सम्म मोटरसाइकल जाँदैनन्’ उनले भनीन् ‘एउटै मोटरसाइकलमा ३ जना (चालक सहित) जादा डर त लाग्छ तर बाद्यता छ ।’ उनले मोटसाइकलको भाडा पनि निकै महंगो भएको बताइन् । गौरीफन्टाबाट ३ किलोमिटर टाढा रहेको वनगाउँ पु¥याएको मोटरसाइकल चालकले ५० रुपैयाँ लिने गरेका छन । त्यसमा फर्किदा सामान बढी भएमा भने सो अनुसार रकम लिने गरेका छन् ।

अत्तरियाका जानकी पन्तले वनगाउँ पुग्न जोखिम मोलेर मोटरसाइकलमा यात्रा गर्नु वाद्यता भएको बताइन् । ‘जाँदा पलियाको बसमा वनगाउँ सम्म जान सकिने भएपनि बसले पनि नजिकको यात्रु भनेर लग्न मान्दैनन्’ उनले भनीन् ‘गौरीफन्टा वनगाउँ चल्ने म्याजिक गाडी बन्द हुँदा निकै समस्या भएको छ ।’ उनले म्याजिक गाडीले २० रुपैयाँमै गौरीफन्टाबाट वनगाउ बजार पु¥याउने गरेकोमा अहिले दोब्बर बढी रकम तिर्नुपर्ने बाद्यता रहेको बताइन् ।
नेपालमा मोटरसाइकलमा २ जना भन्दा बढी यात्रु बस्न रोक लगाइए पनि पारी गौरीफन्टा वनगाउँ सडकमा भने ३ जना मोटरसाइकलमा राखेर यात्रा गर्दा पनि कुनै रोकटोक लगाइएको छैन् । जसको फाइदा उठाउँदै मोटरसाइकल चालकले निर्वाध जोखिम मोलेर यात्रु बोक्ने गरेका छन् ।
वनगाउँमा धनगढी अत्तरिया लगायतका बजार क्षेत्रबाट खाने तेल, मरमसला, चिनी, दालका साथै लत्ता कपडा किनमेल गर्ने मानिस जाने गरेका छन । वनगाउँमा किनमेलका लागि दैनिक ५ सयको हाराहारीमा मानिसहरु त्यहाँ पुग्ने गरेका छन् ।
सीमाक्षेत्रका नेपाली बजार क्षेत्रमा खाने तेल, मरमसला, चिनी, दालका साथै लत्ताकपडा सस्तो पाइने भएकाले वनगाउँ जाने गरेको धनगढीकी मानमती चन्दले बताइन् । उनले नजिकैको भारतीय बजारमा सस्तोमा सामान पाइने भएकाले आफू वनगाउँ आउजाउ गरिरहने बताइन् ।
भारतीय बजार भएर पनि वनगाउँमा नेपाली रुपैयाँमा कारोेबार हुने गरेकाले नेपाली ग्राहकलाई भारु सटही गर्नुपर्ने अवस्था हुँदैन । जसका कारण पनि किनमेल गर्नेको भारतमा भिड लाग्ने गरेको छ । कैलालीबाट मात्रै नभइ पहाडी जिल्ला, बझाङ, बाजुरा, बैतडी, डडेल्धुराका थोक तथा खुद्रा व्यापारी पनि वनगाउँबाट लाखौंको सामान खरिद गर्न त्यहाँ पुग्छन् ।