अत्तरिया – कैलालीको अत्तरिया बजारमा डस्टबिन नराखिँदा फोहर छरपस्ट हुने गरेको छ । बजार क्षेत्रका मुख्य राजमार्ग किनारामा व्यवसायी र स्थानीयहरुले सडक किनारामा भूइमै फोहर जम्मा गर्ने गरेका छन । ठाउँठाउँमा यसरी फोहर जम्मा गरिदा बजार दुर्गन्धित देखिने गरेको छ । फोहर संकलनका लागि नगरपालिकाले डस्टबिन राखेको भएपनि ति सीमित मात्रामा रहेका छन । सडक किनारामा डस्टबिन नराखिँदा फोहोर सडक किनारामा जम्मा गर्ने गरिएको भएपनि त्यो फोहोर हावाले उडाएर छरपस्ट हुने गरेको छ ।
स्थानीय व्यवसायी राकेश बिकले फोहर हाल्ने डस्टबिन नहुँदा सडक किनारामा भूइमै फोहोर जम्मा गर्ने गरेको बताए । उनले फोहोर भूइमा जम्मा गर्दा छाडा गाईगोरुले समेत छरपस्ट पार्ने गरेको बताए । फोहर राख्ने डस्टबिन नहुँदा थोरै थोरै फोहोर ठाउँठाउँमा सडक किनारामा जम्मा गर्ने गरिएको छ । जसले गर्दा उक्ता फोहोर संकलन गर्न पनि समस्या हुने गरेको छ ।
स्थानीय राजेश भट्टले ठाउँठाउँमा खुला रुपमा फोहोर जम्मा गरिदा बजारको सौन्दर्यतामा समेत ह्रास आएको बताए । उनले बजारका फोहोर संकलनका लागि पर्याप्त मात्रामा डस्टबिन राखिनुपर्ने बताए । नगरपालिकाको फोहरमैला व्यवस्थापन सुपरभाइजर पर्मल सिह महराले भने राखिएका डस्टबिनमा हटाउन व्यवसायीहरूले नै दवाव दिएपछि हटाइएको बताए । उनले पसल अगाडि राखिएका डस्टबिनमा गल्ली भित्रबाट पनि फोहर ल्याएर थुपारिने गरीदा दुर्गन्धित हुने भएकाले डस्टबिन हटाइएको बताए ।
‘हामीले कुहिने नकुहिने, अस्पतालको फोहोर अलग अलग राख्न खोजेका हौ । तर, बजारमा राखिएका ठूला डस्टबिनमा सबै फोहोर एउटैमा फालिन थालिएपछि ति हटाएका छौ’ उनले भने ‘ति डस्टबिनमा मासुजन्य फोहोर देखि अस्पतालका सिरेन्ज पनि भेटिएका थिए ।’ उनले फलामका डस्टबिनका ढक्कन पनि चोरी भएकाले दुर्गन्ध फैलिने भएकाले हटाइएको बताए ।
हाल नगरपालिकाले बजार क्षेत्रमा राखिएका १६ वटा डस्टबिन वडा कार्यालयमा जम्मा गरेर राखेको छ । गोदावरी नगरपालिकामा गत मंसिर देखि ठेक्का मार्फत मातृभूमि समाज प्रालिले बजार क्षेत्रको फोहोर संकलन गर्दै आएको छ । उक्त कम्पनीले शुल्क तिरेकाहरुको मात्रै फोहोर उठाउने गरेका कारण पनि डस्टबिनको फोहोर व्यवस्थापन गर्न समस्या हुन थालेपछि हाल व्यवसायीहरुले आ–आफ्नो पसल अगाडि खुला ठाउँमा नै फोहोर जम्मा गर्ने गरेका छन ।
मातृभूमि समाज प्रालिका संचालक गोबिन्द रावलले फोहोर संकलनका लागि बजार क्षेत्रमा डस्टबिनको आवश्यकता नै नभएको बताए । उनले प्रत्येक दिन आफूहरुले पसल र घरबाट फोहोर संकलन गरिरहेकाले डस्टबिनको आवश्यकता नभएको बताए । ‘फोहोर लुकाएर दिने चिज हो । तर, यहाँ खुला सडकमा जम्मा गर्ने गरेका छन’ उनले भने ‘हामीले बिस्तारै यो सिस्टममा परिवर्तन ल्याउँदै छौ । केही व्यवसायीहरुले फोहोर आफैले पसलभित्रै जम्मा गरेर हामीलाई दिने गरेका छन । केहीले अझै पनि फोहोर पसल अगाडि थुपार्ने गर्नेका छन । यसमा सुधार ल्याउन आवश्यक छ ।’ उनले सडकमा यसरी राखिएको फोहोर संकलन गर्न पनि समस्या हुने गरेको बताए । उनले सार्वजनिक ठाउँहरुमा फोहोर संकलनका लागि डस्टबिन आवश्यक भएपनि प्रत्येक पसलका अगाडी डस्टबिन नचाहिने बताए । डस्टबिन प्रत्येक घर र पसलमा व्यक्तिगत रुपमा राखिनुपर्ने उनको भनाइ छ ।