खाेज्नुहाेस

सुदूरपश्चिम सरकारको सहयोगमा प्याजको बजारीकरण

Image

अत्तरिया – बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उत्पादन भएको प्याज बिक्री नभएपछि सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा अत्तरिया पु-याइएको छ । कृषि ज्ञान केन्द्र बाजुराको सहयोगमा भण्डारण गरिएको प्याज बिक्री नभएपछि प्रदेश सरकारको सहयोगमा कैलालीको अत्तरिया बजार सम्म पु-याइएको हो ।

सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. मदन सिंह धामीले किसानका उत्पादन आकस्मिक रुपमा ढुवानी गर्नकै लागि बजेटको व्यवस्था गरिएकाले सोही रकमबाट प्याजको ढुवानी गरिएको बताए । उनले मूल्य शृङ्खलाका जटिलतामा प्रदेश सरकारले सहकार्य गर्ने गरेको बताए ।

attariya hospital

कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख मीन बहादुर जैशीले स्वामिकार्तिक खापर गाउँपालिकाको वडा नम्बर १ मा डेढ सय क्युन्टल प्याज उत्पादन भएको बताए । उनले उत्पादन भएको प्याज मध्ये १ सय क्युन्टल कृषि ज्ञान केन्द्रले निर्माण गरेको भण्डारण गृहमा राखिएकोमा मंगलबार प्रदेश सरकारको सहयोगमा करिब ४५ क्युन्टल प्याज अत्तरिया पु-याइएको बताए । ‘बाटो खुलेपछि प्याज बिक्री गर्ने योजना बनाएर प्याज भण्डारण गृहमा राखेका थियौ’ उनले भने ‘बल्लतल्ल बाटो खुलेपछि ४ दिनमा प्याज अत्तरियाको बजार सम्म पु¥याउन सफल भएका छौ ।’

navjiwan hospital

उनले प्याज कोल्ड स्टोरमा राख्न नमिल्ने भएकाले प्याजका लागि छुटै प्रकारको भण्डारण गृह बनाइएको बताए । उनले भण्डारण गृहमा प्याज खेती गर्ने कृषक समुहमा आवद्ध ४० जना किसानको प्याज निःशुल्क रुपमा भण्डारण गरिएको बताए ।

स्वामिकार्तिक खापर गाउँपालिकामा रहेको कार्तिक स्वामी बहुउद्देश्यीय सहकारी संस्थामार्फत संकलन गरिएको प्याज अत्तरियामा रहेको कृषि हाटबजारका व्यवसायीले खरिद गरेका थिए । ज्ञान केन्द्रका प्रमुख जैशीले उक्त प्याजको किसानले ४५ रुपैयाँ पाउने बताए । उनले बाजुरा सदरमुकाम देखि अत्तरिया सम्म ल्याउन प्रदेश सरकारले सहयोग गरेको बताए । उनले बाजुराका किसानको पहुँच अत्तरिया बजार सम्म जोडिएकाले आगामी दिनमा सहज रुपमा बजारमा बिक्री हुने अपेक्षा लिएको बताए । उनले भारतको नासिकबाट आउने प्याज भन्दा बाजुराको प्याज कयौं गुणा राम्रो भएको बताए ।

बाजुरामा गत वर्ष उत्पादन भएको प्याज मार्तडी बजारमै खपत भएपनि यस वर्ष भने बिक्री नभएपछि प्रदेश सरकारको सहयोगमा अत्तरिया सम्म ल्याइएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । प्याज उत्पादका लागि ज्ञान केन्द्रले बिउबिजन सँगै प्राविधिक सहयोग गर्ने गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले सुदूरपश्चिम प्रदेशमा उत्पादन भएको कृषि उत्पादन बजारीकरणमा समस्या नहुने बताए । उनले मन्त्रालयले ढुवानीमा अनुदान दिने नीति ल्याएकाले पहाडी जिल्लामा उत्पादन भएका कृषि उपज कृषि ज्ञान केन्द्रहरू सँगको समन्वयमा बजार सम्म पु¥याइरहेको बताए । उनले केहि दिन अघि मात्रै बाजुरामै उत्पादन भएको बन्दा र स्याउलाई प्रदेश सरकारको अनुदान सहयोगमा अत्तरिया र धनगढीका बजार सम्म पु¥याइएको बताए । उनले पहाडी जिल्लामा व्यवसायी रुपमा तरकारी, फलफूल उत्पादन गर्न आग्रह गरे ।

‘सुदूरपश्चिमका मानिसहरूको आयआर्जन बढाउने एक मात्रै उपाय कृषिमा व्यवसायिकरण हो । यसबाट नै यस प्रदेशका मानिसहरको प्रतिव्यक्ति आय बढ्छ’ उनले भने ‘प्रदेशमा उत्पादन बढाउन सके चाइनाबाट स्याउ, भारतबाट प्याज लगायतका तरकारी ल्याउन पर्दैन ।’ उनले प्रदेश सरकार कृषिका सम्भावनाको बारेमा गहिरो अध्ययन गरिरहेको बताए ।