अत्तरिया– कैलालीको अत्तरियामा रहेको गोदावरी बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०७९/०८० को असार मसान्त सम्म डेढ करोडको कारोबार गरेको छ ।
बिहिबार सम्पन्न संस्थाको पाँथौ वार्षिक साधारण सभामा प्रस्तुत गरिएको प्रगती प्रतिवेदन अनुसार संस्थाले उक्त आर्थिक वर्षमा १ करोड ५५ लाख ७५ हजार ८४१ रुपैयाको कारोबार गरेको छ । जसबाट संस्थाले सम्पुर्ण खर्च कटाएर १ लाख ४२ हजार ३७८ रुपैया बचत गर्न सफल भएको छ ।


८ लाख ८५ हजार शेयरपुँजीका साथ २०७५ सालमा स्थापन भएको संस्थामा हाल ३९ लाख २ हजार ६ सय रुपैया शेयरपुँजी रहेको छ । संस्थाका शेयरसदस्यहरुको संख्यामा पनि वृद्धि भएको प्रतिवेदनले देखाएको छ । ३६ जना शेयरसदस्यबाट सुरु भएको सहकारीमा हाल ४२२ शेयरसदस्य रहेका छन ।
बिहिबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको पाँचौ वार्षिक साधारण सभा आयोजना गरिएको थियो । संस्थाका उपाध्यक्ष ललिता पाठकको सभापतित्वमा आयोजित सभाका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका सुदूरपश्चिम प्रमुख दिनेश गेलाल रहेका थिए भने विशिष्ठ अतिथिमा गोदावरी नगरपालिकाका सहकारी शाखा प्रमुख दिव्यराज जोशी रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गेलालले सहकारीहरु सदस्य केन्द्रित हुन जरुरी रहेको बताए । उनले आफ्ना शेयरसदस्यहरुलाई जिवनस्तर उकास्ने गरी सहकारीहरुले कार्य गर्नुपर्ने बताए । उनले सहकारीहरुलाई जिवन्त राख्न सदस्यहरुको पनि उत्तिकै हात हुने बताए । उनले सहकारीमा नियमित बचत भने बढाउन जरुरी रहेको बताए ।
नियमित बचतले सहकारीलाई जिवन्त राख्न र अगाडी बढ्न मद्दत गर्ने समेत उनले बताए । उनले सहकारीहरुलाई माथी उकास्न राष्ट्रिय सहकारी बैंकले हरेक क्रियाकलापहरु गर्न तयार रहेको बताए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव धर्म सिँह कुँवरले गरेका थिए ।



















