धनगढी – धनगढी उपमहानगरपालिकामा मनपरी रुपमा निजि सवारी साधनबाट समेत ट्याक्स उठाउने गरेको पाईएको छ । उपमहानगरपालिकाले ठेक्का सम्झौता गरेको एन.के. कन्स्ट्रक्सनले सवारी साधनहरुबाट मनपरी रुपमा ट्याक्स उठाउने गरेको पाईएको हो ।
बसपार्क टर्मिनल भवन, बास बिसौनी तथा पार्किङ्ग शुल्क संकलन गर्न एन. के कन्स्ट्रक्सनले धनगढी उपमहानगरपालिकासँग ठेक्का सम्झौता गरेको छ । सम्झौता अनुसार कम्पनीले धनगढी उपमहानगरपालिका भित्र प्रवेश गर्ने सार्वजनिक यातायातसँग तोकिदिएअनुसारको ट्याक्स मात्रै असुल गर्न पाउँछन् । तर, कम्पनीले सम्झौता विपरित निजी सवारी साधनसँग पनि ट्याक्स असुली गर्दै आएको छ ।


उक्त कम्पनिले आइतबार धनगढीबाट चुरे गाउँपालिका जाँदै गरेको बा १९ च ५७४२ नम्बरको निजी सवारी साधनबाट ट्याक्स असुली गरेको हो । उक्त सवारी साधनधनी कुबेर बोगटीले ‘हाईवे’ मा रोकेर आफुबाट ट्याक्स असुल गरिएको बताए । उनले शुल्क असुलीका लागि खटाइएका कर्मचारीले दादागिरी शैली देखाएको समेत उनले बताए ।
‘धनगढीबाट चुरे जाँदै गरेको अवस्थामा एक्कासि धनगढी एयरपोर्ट जाने बाटो अघिको हाइवेमा गाडी रोकेर रसिद काट्न लगाइयो’ बोगटीले भने, ‘हाम्रो प्राईभेट गाडी हो भन्दा पनि दुई जनाले गुण्डा शैलीमा थर्काएर रसिद काट्न लगाए ।’
सम्झौता अनुसार सार्वजनिक यातायातको मात्रै शुल्क असुली गर्नुपर्नेमा ठेकेदार कम्पनिका कर्मचारीहरुले भने खुलेआम रुपमा निजि सवारी साधनहरुबाट समेत शुल्क असुली गर्ने गरेको देखिएको छ ।



















