खाेज्नुहाेस

इन्धनको मूल्य बढ्यो, ग्यास प्रतिसिलिन्डर २ हजार ११० पुग्यो

Image

काठमाडौँ– नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। शनिबार मध्यरातिबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल/मट्टितेल, खाना पकाउने एलपी ग्यासका साथै हवाई इन्धनको मूल्यवृद्धि गरेको हो।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको हो। मूल्यवृद्धिसँगै काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १८५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य समान १७९ रुपैयाँ कायम भएको छ। यसअघि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ थियो भने पेट्रोलको मूल्य प्रतिलिटर १८३ थियो।

attariya hospital

आयल निगमले देशको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरेर इन्धनको मूल्य निर्धारण गर्ने गरेको छ। तेस्रो वर्गमा पर्ने काठमाडौँ, पोखरा र दिपायलमा इन्धनको मूल्य सबैभन्दा बढी पर्छ।

navjiwan hospital

दोस्रो वर्गमा पर्ने दाङ र सुर्खेतमा प्रतिलिटर पेट्रोल १८४ र डिजेल मट्टितेल १७८ रुपैयाँ कायम भएको छ। त्यस्तै, पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर अमलेखगन्ज भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा प्रतिलिटर पेट्रोलको मूल्य १८२.५० र डिजेल तथा मट्टितेलको मूल्य १७६.५० रुपैयाँ कायम भएको निगमले जनाएको छ।

त्यस्तै, निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ बढाएको छ। मूल्यवृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ११० रुपैयाँ पुगेको छ। यसअघि एलपी ग्यासको मूल्य १ हजार ८९५ रुपैयाँ थियो। त्यस्तै, हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ।

निगमले इन्डियन आयल कर्पोरेसनबाट सेम्टेम्बर ३० मा प्राप्त नयाँ खरिद मूल्यअनुसार समायोजन गरी मूल्य निर्धारण गरिएको जनाएको छ। इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा मूल्यसूची पठाउने गर्छ, त्यसअनुसार नेपालमा इन्धनको मूल्य घट्बढ हुने गर्छ।

भारतबाट भने पेट्रोलमा प्रतिलिटर १.३४ डिजेलमा ४.८२ रुपैयाँ वृद्धि भएर आएको छ। त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १७३.४५ रुपैयाँले वृद्धि भएर आएको छ भने हवाई इन्धनमा ६.५४ रुपैयाँ बढेर आएको छ। निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि–२०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि करसहित समायोजन गरेर कायम हुने मूल्यका आधारमा इन्धनको मूल्यवृद्धि गरिएको जनाएको छ।