अत्तरियाको मानाङ्क सहकारीले आफ्नै भवनमा मनायो १२ औं वार्षिकोत्सव

अत्तरिया – कैलालीको अत्तरियामा २०६८ सालमा स्थापना भएको मानाङ्क बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १२ औं वार्षिकोत्सव मनाएको छ । बिहीबार सहकारीले नवनिर्मित आफ्नै सुविधा सम्पन्न भवनमा १२ औं वार्षिकोत्सव मनाएको हो । १२ वर्ष अगाडि २६ जनाको १ लाख २५ हजार शेयर पुँजीबाट सुरु भएको सहकारीले २ करोड बढी सेयर पूँजी पु-याउँदै हाल अत्तरियामा आफ्नै भवन निर्माण गरेको छ ।

maya metro hospital

सोही भवनमा सहकारीले बिहीबार राष्ट्रिय सहकारी बैंक धनगढीका प्रबन्धक कृष्ण रावलको प्रमुख आथित्यमा वार्षिकोत्सव मनाएको थियो ।
कार्यक्रममा बोल्दै प्रबन्धक रावलले मानाङ्क सहकारीले छोटो समयमा उल्लेख्य प्रगति गरेको बताए । उनले पछिल्लो समय सहकारी प्रति केही नकारात्मक टिकाटिप्पणी गरेको सुनिए पनि त्यो समस्या यस क्षेत्रका सहकारीका हकमा लागू नहुने बताए ।

‘सहकारीमा देखिएका समस्या यस क्षेत्रमा खुलेका सहकारीमा छैन’ उनले भने ‘केन्द्रमा सहकारी विभाग मार्फत खुलेर यस क्षेत्रमा शाखा विस्तार गरेका सहकारीमा समस्या देखिएको छ । यस्तो सहकारीले स्थानीय स्तरमा समन्वय नै गरेका छैनन् ।’ उनले स्थानीय स्तरमा खुलेका सहकारीमा जनताको भरोसा उतिकै कायम रहेको बताउँदै आगामी दिनमा बाहिरबाट सहकारी आउन रोक लगाउनु पर्ने बताए । उनले पछिल्लो समय तरलता बढे संगै सहकारीको ब्याजदर घट्दो क्रममा रहेको बताए । उनले सहकारीबाट लिएको ऋणको सही सदुपयोग गर्न पनि आग्रह गरे ।

attariya hospital

वार्षिकोत्सव कार्यक्रममा विशिष्ट अतिथि रहेका गोदावरी नगरपालिका सहकारी शाखाका प्रमुख दिव्यराज जोशीले गोदावरी क्षेत्रका कुनै पनि सहकारीका समस्या नभएको बताए । ‘अन्य ठाउँका सहकारीको नाम लिएर वा अन्य ठाउँका सहकारीका यस क्षेत्रमा खुलेको शाखाको नाम लिएर सबै सहकारीलाई एउटै हुन भन्नु गलत हो’ उनले भने ‘गोदावरीमा खुलेका सहकारीमा कुनै समस्या छैन । अब बाहिरबाट आएका सहकारीलाई यस क्षेत्रमा शाखा बिस्तार गर्न अनुमति पनि दिइने छैन ।’ उनले हाल धेरै सङ्ख्यामा सहकारी भएकाले नगरपालिकाले एकीकृत गर्ने नीति लिएको बताए ।

कार्यक्रममा सहकारीको वार्षिक प्रतिवेदन सहकारीका अध्यक्ष वेद प्रकाश पाण्डेले प्रस्तुत गरेका थिए । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले कोरोना पछि बजारमा आर्थिक गतिविधिमा वृद्धि हुँदा वित्तीय चाप बढ्दा कर्जा लगानी बढेपनि तुलनात्मक रुपमा निक्षेप वृद्धि कम भएको बताए । उनले आर्थिक वर्ष २०७८/७९ मा संस्थाको चुक्तापुँजी १ करोड ८० लाख ६३ हजार ६ सय रहेकोमा आव २०७९/८० मा बढेर २ करोड १७ लाख ५९ हजार ७ सय पुगेको बताए । उनले जगेडा कोष पनि १३ दशमलव ५४ प्रतिशतले बढेर १ करोड ३२ लाख ३१ हजार ७३७ पुगेको बताए ।
संस्थाको बचत रकम भने गत आर्थिक वर्षको तुलनामा शून्य दशमलव ५३ प्रतिशतले घटेर १० करोड १६ लाख ९५ हजार ८२० पुगेको अध्यक्ष पाण्डेले बताए । हाल सहकारीको बाह्य ऋण ४ करोड ८९ लाख ५१ हजार १८४ रहेको छ ।

सहकारीको नाफा भने बढेको छ । आर्थिक वर्ष २०७८/०७९ मा सहकारीको कुल नाफा ४४ लाख ७६ हजार ६७० रहेकोमा आर्थीका वर्ष २०७९/८० मा बढेर ४७ लाख २० हजार ९४५ पुगेको छ ।

कार्यक्रममा लेखा सुपरीवेक्षण समितिको तर्फबाट वार्षिक प्रतिवेदन लेखा सुपरीवेक्षण संयोजक हरीदत्त भट्टराईले प्रस्तुत गरेका थिए ।

सहकारीले आर्थिक वर्ष २०८०/८१ मा कुल व्याज आम्दानी १८ दशमलव ९६ प्रतिशतले वृद्धि गरेर ३ करोड १२ लाख १७ हजार ८०१ पु-याउने लक्ष्य लिएको सहकारीका व्यवस्थापक प्रकाश जोशीले बताएका छन । त्यस्तै कुल सञ्चालन आम्दानी पनि २५ दशमलव २० प्रतिशतले वृद्धि भइ ४५ लाख २ हजार ४१३ पुग्ने अनुमान गरिएको छ ।

भाडाको घरमा सञ्चालनमा रहेको सहकारीले गत आर्थिक वर्षमा १ करोड ३७ लाख खर्च गरेर अत्तरियाको रिङ्ग रोडमा नयाँ भवन खरिद गरेको थियो । गोदावरी नगरपालिका – २ मा केन्द्रिय कार्यालय रहेको सहकारीको गोदावरी नगरपालिका – ५ गेटामा सेवा केन्द्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.