धनगढी – सुदूरपश्चिम प्रदेशका २ लाख बढी पशुमा लम्पी स्किनको संक्रमण देखिएको छ । देशभरी फैलिएको यो रोगबाट सबैभन्दा बढी सुदूरपश्चिम प्रदेश प्रभावित बनेको छ । पशुरोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा नरेश जोशीले अहिलेसम्म सुदूरपश्चिममा २ लाख ७ सय ९८ पशु सङ्क्रमित भएकोमा १० हजार ९ सय भन्दा बढी पशु मरिसकेको जानकारी दिए ।
यो प्रदेशमा गाई र भैँसीको सङ्ख्या १५ लाख ८२ हजार रहेकोमा योमध्ये झण्डै १२ दशमलब सात प्रतिशत पशु सङक्रमित भइसकेको जनाइएको छ । प्रदेशभरी गाई ७९ हजार एकसय ८८, गोरु ७७ हजार चार सय ७१, बाच्छाबाच्छी ३९ हजार ८८,भैँसी राँगो पाडापाडी पाँच हजार ५१ सङ्क्रमित भएका छन् ।


यो रोगले पशुको विभिन्न भागमा साना ठूला गिर्खा देखिने, उच्च ज्वरो आउने, आँखामा कचेरा जम्मा हुने, सिगान बग्ने, खाना खान नसक्ने, मुखबाट धेरै फिँज निकाल्ने जस्ता लक्षण देखिने गर्छ । डा.जोशीले भने, ‘रोग लागेपछि दूधालु गाईभैँसीले झण्डै ८० प्रतिशतसम्म दूध उत्पादन घट्ने गर्छ, गोरु बिरामी पर्दा किसानले आर्थिक क्षति व्यहोर्नु परेको छ ।’
लामखुट्टे, झिँगा र किर्नाको राम्रो व्यवस्थापन गर्न सक्नुनै यो रोगको रोगथामको उपाय रहेको जनाइएको छ । रोग लागिसकेको पशुको ठोस् उपचारविधि नभएका कारण लक्षणकै आधारमा उपचार व्यवस्थापन गर्नुपर्ने हुन्छ । रोगले सुदूरपश्चिममा महामारीको रुप लिएकोले पालिका तहले आफ्नो बजेट कार्यक्रममा रोग नियन्त्रणका लागि बजेट विनियोजन गर्न अति आवश्यक रहेको डा. जोशी बताउछन् ।
क्षेत्रीय पशुसेवा तालिम केन्द्र धनगढीका प्रमुख डा. हेमराज अवस्थीले यो रोगले गोरु मर्न थालेपछि धेरै किसान प्रभावित बनेको बताए । ‘घरमा जोत्ने गोरु र दुहुनो गाईमर्दा पुगेको क्षतिले किसानमा रुवावासी छ’ उनले भने, ‘रोगविरुद्धको खोप आइसकेको छ, तर रोग फैलिएको बेला खोप पनि लगाउन नमिल्दा समस्या भइरहेको छ ।’



















