खाेज्नुहाेस

यातायात व्यवसायीलाई नियमन गर

Image

सडक सवारी साधनबाट लामो दुरीको यात्रा गर्ने यात्रुहरुले प्रत्येक चोटी यातायात व्यवसायीहरुको मनोमानीको सामना गर्नुपरिरहेको छ । गाडी भर्न तानातान गर्ने र बाटोमा कचकच गर्ने समस्या भोग्दै आएको यात्रुहरुले बताउने गरेका छन । गाडी भर्नका लागि विभिन्न लालच देखाएर सस्तो टिकट काटेर यात्रुहरुलाई आफुतिर आर्कषित गर्ने र सवारी चलाईसकेपछि बाटोमा यात्रुहरुसँग विवाद गर्ने सवारी साधनका सहचालकहरुको नियमित कार्य नै बनेको छ । यात्रुहरुले बाध्यताबस त्यस्ता सवारी साधनहरुमा यात्रा गरिरहनुपरेको छ ।

आफुले चाहेको होटलहरुमा खाना खुवाउने, एसीको टिकट काटेर ननएसीमा बिसाउने लगायतका कार्यहरु यातायात व्यवसायीले गर्ने गर्दछन । यातायात व्यवसायीहरुको मनोमानीका कारण प्रायजसो लामो दुरीमा यात्रा गर्ने यात्रुहरुले सास्ती बेहोर्नुपरेको छ । सहचालकहरुले तानातान गरेर गाडीमा चढाउने र पछि किचकिच गर्ने परम्परा यातायात व्यवसायमा चलेको पुरानै परम्परा हो ।

attariya hospital
navjiwan hospital

त्यतिमात्रै नभई यातायात व्यवसायीहरुले यात्रुु लुट्ने गरी सिण्डिकेट समेत लागु गर्ने गरेका छन । आफुले सम्झौता गरेको होटलमा मात्रै खाना खुवाउन उतार्ने होटल व्यवसायीहरुको सिण्डिकेट हालसम्म चलिरहेको छ । होटलमा यात्रुहरुलाई ल्याएवाफत होटल व्यवसायीहरुले कमिसन दिने गरेका कारण पनि उक्त सिन्डिकेट मौलाएको छ ।

यातायात व्यवसायीहरुका कारण पटक पटक यात्रुुहरु समस्यामा पर्ने गरेका समाचारहरु बाहिर आईरहदा समेत सरोकारवाला निकाय भने मौन रहने गरेका छन । मनोमानी शुुल्क असुल्ने, एउटा सिट भनेर अर्काे सिटमा राख्ने, टिकटमा काटिएको सिट भएपनि मान्छे भर्नका लागि त्यहाँ अर्कालाई राख्ने काम गाडीवालाहरुले गर्ने गरेका छन । तर सो विषयमा कुनै पनि सरोकार वाला निकायले ध्यान दिएको छैन ।

यातायात व्यवसायीहरुको नियमनका लागि गठन गरिएका समितिहरुले यस्ता कार्यलाई प्रशय दिईरहेका छन । यातायात व्यवस्था विभागले नियम जारी गरेको भएपनि केही हदसम्म मात्रै त्यस्ता नियमहरुको कार्यान्वयन भैरहेको छ । तर यो विषयमा यातायात व्यवस्था विभाग पनि बलियो बन्न सकेको छैन । यात्रुहरुलाई सास्ती दिने यातायात व्यवसायीहरुलाई नियमन गर्न जरुरी छ । यस्ता यातायात व्यवसायीहरुको नियमन हुन सके सडक सवारी साधनको दुर्घटनामा पनि कमी आउन सक्छ ।