धनगढी – विजनेस नहुँदा सुदूरपश्चिम प्रदेश सभा कामविहिन बनेको छ । जनताको सार्वभौमसत्ताको प्रयोगसहित नीति निर्धारण तथा कानुन निर्माण गर्ने निकायको रुपमा रहेको प्रदेश सभा सरकारले विजनेस दिन नसक्दा कामविहीन बनेको हो ।
मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनका लागि फागुन २१ गते प्रदेश सभाको बैठक सञ्चालन भएको थियो । प्रदेश सभा दोस्रो कार्यकालमा प्रवेश गरेको चार महिनाभन्दा बढी भइसकेको छ । यो अवधिमा सरकार निर्माण र सभामुख, उपसभामुख चयनका लागि बाहेक अन्य विषयका लागि प्रदेश सभा बैठक बस्न सकेको छैन । त्यसपछि बिजनेस नहुँदा प्रदेश सभा अहिले कामविहीन अवस्थामा रहेको छ ।


प्रदेश सभामा एउटा पनि विजनेस नरहेका कारण बैठक सञ्चालनको कुनै पनि टुङ्गो नलागेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए । उनका अनुसार प्रदेश सरकारले अहिलेसम्म प्रदेश सभा सचिवालयमा एउटा पनि विधेयक दर्ता गराएको छैन । मङ्सिर ४ गतेकोे निर्वाचनबाट नयाँ सदस्य निर्वाचित भएर आएपछि प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक पुस १५ गते बसेको थियो । त्यसपछि मुख्यमन्त्री, सभामुख, उपसभामुख चयन र विश्वासको मत लिनका लागिमात्रै प्रदेश सभा बैठक बसेको छ । अहिलेसम्म आठ वटा बैठक बसेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
हालसम्म सबै बैठकहरु सरकार निर्माण र प्रदेश सभा सञ्चालनको लागी मात्रै बसेका छन भने जनताको एजेण्डा र कानुन निर्माणको विषयले अझै पनि प्रदेश सभामा प्रवेश पाएको छैन । मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनका लागि पछिल्लो समय फागुन २१ गते प्रदेश सभाको बैठक बसेको थियो ।
प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले सरकारले पूर्णता पाएपछि प्रदेश सभाको बैठक सञ्चालन हुने बताए । उनले सभाको बैठक सञ्चालनका लागि प्रदेश सरकारले विधेयकसमेत तयार पारिसकेको उल्लेख गरे । मुख्यमन्त्री शाहले विश्वासको मत लिएको एक महिनाभन्दा बढी भैसकेपनि सुदूरपश्चिम प्रदेश सरकारले अझै पूर्णता पाउन सकेको छैन ।
प्रदेश सभाबाट हालसम्म ६६ वटा विधेयक पास भएको छ । सबै विधेयक प्रदेश सभाको पहिलो कार्यकालमा पास भएको हो । पास भएका विधेयकमध्ये ११ वटा बजेट कार्यान्वयन सम्बन्धी विधेयक र ११ वटा संशोधन विधेयक रहेका छन् । पाँच वर्षमा मूल कानुन ४४ वटा बनेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
















