धनगढी – तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप २०७९ को मंगलबार उद्घाटन खेलमा डोटीलाई ३–१ ले पराजित गर्दै आयोजक गौरीगंगा–११ स्पोर्ट्स क्लब क्वाटरफाइनलमा पुगेको छ ।
खेलको ११ औं मिनेटमा डोटीका हरि सिंहले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ४० औं मिनेटमा आयोजकका गणेश लुहारले गोल गरेपछि पहिलो हाफको खेल बराबरीमा टुंगियो । खेलको ७६ औं मिनेटमा प्राप्त पेनाल्टीमा आयोजकका दिनेश थापाले गोल गरेर खेलमा २–१ को अग्रता दिलाए । ८१ औं मिनेटमा आयोजककै जनक साउदले गोल थप्दै टिमलाई जित दिलाए । प्लेयर अफ द म्याच उनी नै चुनिए ।


‘खेलौं फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नारासाथ भएको प्रतियोगिताको सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका थिए । उनले खेलकुद क्षेत्र व्यावसायिक बन्न नसकेको बताए । उनले भने, ‘खेलकुदप्रति युवाको आकर्षण बढ्दै छ । तर, व्यावसायिक नबन्दा खेलाडीलाई जीविकोपार्जन गर्न समस्या भएको छ ।’
चैत ३० सम्म हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । आयोजक गौरीगंगा–११ सँगै कैलाली, कञ्चनपुर, डोटी, बाजुरा, बाँके, बर्दिया, नवलपरासी जिल्लाका टिमका साथै नेपाल पुलिस र एपीएफ क्लबको सहभागिता छ ।
विजेताले ४ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार पाउने छन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ । विधागत उत्कृष्टले जनही १० हजार पाउनेछन् । म्यान अफ द म्याचका हरेकले ५ हजार पाउनेछन् ।
सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्न, नगर क्षेत्रमा खेलकुदको चहलपहल बढाउन, व्यावसायिक खेलाडी उत्पादन र युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्ने उद्देश्यले प्रतियोगिता गरिरहेको क्लबका अध्यक्ष दिनेश कलेलले बताए । प्रतियोगिताको मुख्य प्रायोजकमा जगदम्बा इन्टरप्राइजेजको उत्पादन जगशक्ति गोल्ड टीएमटी छड रहेको छ ।
















