बैतडी – जिल्लाका तीन युवती बेपत्ता भएका छन् । जिल्लाको मेलौली नगरपालिकाकी दुई र पाटन नगरपालिकाकी एक युवती बेपत्ता भएकी हुन् ।
मेलौली–१ सिराडकी लक्ष्मी पोखरेल सोमबार बिहानदेखि सम्पर्कविहिन भएकी छन् । सोमबार बिहान ३ बजेतिर एक वर्षीय छोरा कोठामा एक्लै रुँदै गरेको भेटिएको र लक्ष्मी कोठमा नभेटिएको उनका देवर निराजन पोखरेलले बताए । भाउजु सम्पर्कविहिन भएपछि खोजीका लागि इलाका प्रहरी कार्यालय तस्वदेही मेलौलीमा निवेदन दिएको छ ।

सम्पर्कविहिन भएकी लक्ष्मीका श्रीमान राजेन्द्र पोखरेल रोजगारीको सिलसिलामा भारतको बेंगलोरमा रहेका छन् । पोखरेलका दुई छोरा रहेको बताइएको छ ।

यस्तै मेलौली नगरपालिका –१ जर्कु सैनी घर भएकी २० वर्षीया पार्वती खत्री नायक गएको छ दिनदेखि बेपत्ता रहेकी छन् । यही चैत १६ गते घरबाट एक्कासि हिँडेकी पार्वती अहिलेसम्म सम्पर्कमा नआएको जनाएको छ ।
पार्वतीका श्रीमान सागरसिंह नायक रोजगारीको सिलसिलामा मलेसियामा रहेका छन् । पार्वतीलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई खबर गरिदिन आग्रह गरिएको छ ।
जिल्लाको पाटन नगरपालिका वडा नं ४ जेउड्याकी १५ वर्षीया गोमती लाबड पनि छ दिनदेखि बेपत्ता भएकी हुन् । यहि चैत १५ गतेबाट छोरी सम्पर्कविहिन भएकी गोमतीका बुवा दिलिप लाबड जानकारी दिए । चैत १५ गते देहिमाण्डौं जात्रा जान्छु भनेर घरबाट हिँडेकी गोमती अहिले सम्म घर फर्किएकी छैनन् ।
यता इलाका प्रहरी कार्यालय तस्वदेहीका प्रमुख नारायण पन्तले युवती बेपत्ता भएको जानकारी प्राप्त भएको र खोजी कार्य जारी रहेको बताए ।
















