बैतडी – बैतडीमा विकास बजेट खर्च न्यून भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा यहाँ प्रदेश सरकारतर्फका कार्यालयको विकास बजेट १५ र सङ्घीय सरकारको २१ प्रतिशतमात्रै खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रकको कार्यालयका लेखापाल भवानी भट्टका अनुसार प्रदेशतर्फका कार्यालयको कुल पुँजीगत बजेट २ अर्ब ४६ करोड ९७ लाख मध्ये चालु आवको अहिलेसम्म ३८ करोड ६१ लाख खर्च भएको छ । यो कुल बजेटको १५ दशमलव ६३ प्रतिशतमात्रै हो ।


यस्तै प्रदेशतर्फको चालु बजेट ६९ करोड १३ लाख रहेकामा २५ करोड ४३ लाख खर्च भएको छ । चालुतर्फ कुल बजेटको ३६ दशमलव ७८ प्रतिशत रकम खर्च भएको छ । यस्तै सङ्घका कार्यालयको पनि विकास खर्च कमै देखिएको छ । चालु आवको अहिलेसम्म जिल्लामा सङ्घका कार्यालयको विकास बजेट २१ दशमलव ६४ प्रतिशत खर्च भएको छ । सङ्घका कार्यालयको कुल पुँजीगत बजेट रु ७८ करोड छ लाखमध्ये रु १६ करोड ८९ लाख खर्च भएको छ ।
यस्तै चालुतर्फ भने सङ्घका कार्यालयको खर्च ५९ दशमलव ७६ प्रतिशत पुगेको छ । नेपाली सेना, प्रहरीको तलबसमेत यसैमा समावेश रहेकाले यो खर्च बढेको हो । सङ्घ मातहत रहेका कार्यालयको कुल चालुतर्फको बजेट रु ६ अर्ब १० करोड ४७ लाख रहेकामा रु तीन अर्ब ६४ करोड ८२ लाख ८१ हजार खर्च भएको भट्टले जानकारी दिए ।
रासस

















