अत्तरिया – आर्थिक मन्दिमा परेका व्यापारी मिटर व्याजको चंगोलमा पर्न थालेका छन । आर्थिक मन्दिका कारण व्यापार सुस्त हुँदा बैंकको ब्याज बढेर पीडामा परेका व्यवसायीहरु मिटर व्याजदिनेहरुको चंगोलमा पर्न थालेका छन ।
जसका कारण अत्तरिया क्षेत्रमै धेरै व्यवसायीहरुको उठिबास लागेको छ । मिटर व्याजिहरुले पछिल्लो समय खालि चेक मागेर सहजै ऋण दिने र पछि भनेको समयमा दिन नसके चर्को व्याज असुल्ने गरेका छन । ‘निकै समस्या परेका बेला खालि चेक दिएर सजिलै पैसा पाइएपछि तत्कालको समस्या टार्न पैसा लियौ’ अत्तरियाका एक व्यवसायीले भने ‘सहकारीबाट पैसा लिएर तिर्ने योजना बनाएको थिए । सहकारीले पैसा भनेको समयमा नदिदा मिटर व्याजिको फन्दामा परियो । अहिले दैनिक १ लाखकै ५ हजार थपिदै छ ।’

यसरी मिटर व्याजमा पैसा दिनेहरुले पहिलेनै खालि चेक लिएका हुने भएकाले मन लागेको पैसा चेकमा भरेर बाउन्स गर्ने गरेका छन् ।

यसरी पैसा दिनेहरु आफू भने यस कार्यमा प्रत्यक्ष सहभागि नहुने गरेको व्यवसायीहरुको भनाइ छ । उनीहरुले पैसा उठाउनको लागि डर, धम्की समेत दिने केटाहरु परिचालन गर्दै आएका छन ।
अत्तरियामा ग्रिल व्यवसाय गर्दै आएका एक व्यवसायीले मिटरव्याजिबाट लिएको १ लाख तिर्न नसक्दा ६ महिनामै ६ लाख पुगेपछि पेसाबाटै बिस्थापित हुनपरेको बताएका छन । मिटरव्याजिले ब्याजको पनि ब्याज जोडेर व्यवसायीहरुबाट रकम असुल्ने गरेका छन ।
मिटर व्याजमा पैसा लगाउनेहरुले खालि चेक लिएका हुनाले यस्तो चंगुलमा परेका व्यापारीहरु प्रहरी प्रसासनको जाने अवस्था हुँदैन । यस्ता कार्यमा बैंकका म्यानेजरहरु पनि मिलेको नाम नबताउने सर्तमा अत्तरियाकै एक व्यापारीले बताए । उनले बैंकले नै यस्ता मिटर व्याजिहरुलाई पैसा दिने र पछि चेक बाउन्स भएपछि पैसा असुल्नको लागि सक्रिय हुने गरेको बताए ।
छोटो म्यादमा धेरै ब्याज लिने गैरकानुनी धन्दा ‘मिटर ब्याज’ को जालोमा धेरै व्यक्तिहरू पर्ने गरेका छन । तत्कालै धेरै कमाइने लोभले मिटर ब्याजमा लगानी गरेका र ऋण लिएका दुवै पक्ष अहिले बिचल्लीमा छन् ।
पछिल्लो समय सरकारले यस्तो अवैध कारोबारमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याएर कारबाही गर्ने प्रक्रिया सुरु पनि गरेको छ । यसका लागि अहिले जिल्ला प्रशासन कार्यालयहरूमार्फत उजुरी संकलन कार्य भइरहेको छ । तर, पछिल्लो समय चेक मार्फत हुने मिटर व्याजका कारण भने पीडित झन पीडामा पर्न थालेका छन् ।

















