अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा रहेको जिवनज्योती महिला विकास बहुउद्देश्यिय सहकारी संस्था र प्रगती महिला विकास बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड एकिकरण हुने भएका छन । संस्थाहरुले सोमबार संयुक्त भेला आयोजना गर्दै दुई सहकारीहरु एकआपसमा एकिकरण हुन लागेको जानकारी दिएका छन ।
दुवै सहकारीका सञ्चालक समितिका पदाधिकारी, सदस्य एवम् कर्मचारीहरुको भेला आयोजना गरी संस्था एकिकरणका लागी आवश्यक छलफल भैरहेको जिवनज्योती महिला विकास बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडकी व्यवस्थापक क्षेत्रा साउँदले बताईन । उनले संस्थाको कार्य विस्तार गर्न, संस्थाको दोहोरो सदस्यता नियन्त्रण गर्न तथा सहकारीहरुको आवश्यक भन्दा बढी संख्याहरु घटाउन एकिकरण गर्न लागिएको बताईन । उनले एकिकरणले संस्था सञ्चालनको फजुल खर्च कटौति गर्नुका साथै महिलालाई बहुउद्देश्यिय कार्य गर्न पनि टेवा पुग्ने बताईन ।
संस्थाको बलियो संगठन निर्माण गरी संगठनिक एवम् व्यवसायीक सक्षमता हासिल गर्न, आर्थिक मन्दी व्यवस्थापनमा सहयोग पु¥याउन, सदस्यहरुलाई दोहोरो ऋणको चपेटाबाट जोगाउन, सदस्यहरुलाई उद्यमशिल र व्यवसायमुखी बनाउन, छरिएर रहेका स्रोत साधनहरुलाई एकिकृत गरी अधिकतम प्रयोग र व्यवस्थापन गर्न पनि एकिकरणले मद्दत गर्ने उनले बताईन । उनका अनुसार यही पुष २७ गते आधिकारीक रुपमा सहकारीहरु एक आपसमा एकिकरण हुने भएका छन ।
यसैगरी प्रगती महिला विकास बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडकी व्यवस्थापक संगिता बडैलाले दुर्गम स्थानमा रहेको सहकारीले फराकिलो क्षेत्र पाओस भन्नका लागी एकिकरण गर्न लागीएको बताईन । उनले नगरको दुर्गम क्षेत्रका रुपमा रहेको ओलानीका महिलाहरु अनपढ भएकाले सहकारीको महत्व र सहकारीको काम कारबाहीको बारेमा धेरै जानकार नहुँदा पुरानो सहकारी भएपनि सहकारीको उन्नती हुन नसकेको बताईन । उनले पढेलेखेका सहकारीका सदस्यहरुले सहकारीलाई भन्दा पनि अन्य स्थानमा समय दिन थालेपछि सहकारीलाई माथि उकास्न एकिकरण गर्नुको विकल्प नरहेको बताईन ।
उनले सञ्चालक समितिमा बसेका पदाधिकारीहरु पनि निरक्षर हुँदा सहकारीलाई ह्यान्डील गर्न निकै गाह््रो भएको बताईन । ‘संस्थाहरु च्याउ उम्रेजस्ता उम्रिएका छन, अनि दोहोरो सदस्यताले गर्दा पनि अप्ठ्यारो छ’ उनले भनिन् ‘चुनौतीहरु बढ्दै गएपछि संस्था डगमगाउने होकी भन्ने चिन्ता थपिएको थियो, एकिकरणले त्यो चिन्ता हटाउन मद्दत गरेको छ ।’ उनले सहकारीबाट गत वर्ष भ्रमणमा जाँदा एकिकरणको फाईदाको बारेमा जानकारी पाएको र अहिले दुईवटै सहकारी खुसीसाथ एकिकरण हुन लागेको बताईन । उनले सहकारीको नाम भने जिवनज्योतीकै नामबाट रहने बताईन ।
२०५९ सालमा स्थापना भएको जिवनज्योतीमा मंसिर मसान्त सम्ममा २ हजार ७ सय ४९ जना शेयरसदस्यहरु रहेका छन भने २०५८ सालमा स्थापना भएको प्रगतीमा १ हजार १३ जना शेयरसदस्यहरु रहेका छन । जिवनज्योतीमा २ करोड २२ लाख ६० हजार ३ सय रुपैया शेयर पुँजी रहेकामा प्रगतीमा ६९ लाख ६५ हजार ७ सय रुपैया शेयरपुँजी रहेको छ । जिवनज्योतीको १३ करोड १२ लाख ६० हजार ९ सय ६ रुपैया निक्षेप संकलन रहेको छ भने प्रगतीको निक्षेप संकलन २ करोड ३७ लाख ५१ हजार ९ सय ४१ रहेको छ ।
जिवनज्योतीले ५१ लाख ४३ हजार ३ सय ५९ रुपैया शुद्ध नाफा कमाएकोमा प्रगतीले १ लाख ९९ हजार ८ सय १ रुपैया शुद्ध नाफा कमाएको छ । दुवै सहकारीहरुले मंसिर मसान्त सम्म २४ करोड ३९ हजार ६ सय ९३ रुपैयाको कारोबार गरेका छन । सहकारीहरुको एकिकरण कार्यकारीणी समितिको संयोजकका रुपमा जिवनज्योतीकी पुर्व अध्यक्ष सुमित्रा सोव रहेकी थिईन ।