खाेज्नुहाेस

‘भुवा पर्व जोगाउन महिला सक्रिय’

Image

बझाङ – खप्तडछान्ना गाउँपालिका–४ की बासमती खत्री पालिकामा हुने मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रममा अग्रभागमा देखिन्छिन् । गाउँघरमा हुने मेलामा देउडा, विवाह, गौरा तथा पूजापाठमा गाउने माङ्गल, देउसी, भैली, गौरा पर्वमा हुने हरेक कार्यक्रम उनको प्राथमिकतामै पर्छन् ।

पछिल्लो साता उनी भुवा चाल केन्द्रित छिन् । पुस्तौँ पुरानो पर्वलाई जोगाउनका लागि गत साता गाउँमा भुवा सुरू गरेपछि गाउँघरकी महिलालाई जम्मा पारेर हातमा ढाल तरबार बोक्दै भुवा खेल्न थालिन । शिक्षण पेसामा आवद्ध उनी करिब एक दशकयता स्थानीयस्तरमा मौलिक पर्व जोगाउने अभियानमा छिन । उनी विद्यालयमा पनि बालबालिकालाई स्थानीय भाषा, संस्कृति, संस्कार जोगाउने कुरामा जोड दिन्छिन् ।

godawari nagarpalika dadhelo
attariya hospital

गत सातायता खत्रीवाडा, बासकाटियाँ, माझिगाउँल गायतका गाउँका महिलाको समूहले पाण्डवको विजयोत्सव आफूले पनि मनाउनुपर्ने भन्दै भुवा खेल्न थालेका हुन् । ‘प्राचीनकालीन युद्धमा पनि एक्लैले लडेर पनि सम्भव भएन होला’, उनले भनीन् ‘पाण्डव र कौरवको लडाइँमा पनि भित्री हात महिलाकै थियो । त्यो बेलाको युद्धमा महिलाले साथ दिन हुने तर अहिले पाण्डवको विजयोत्सवमा महिला किन नहुने भन्दै हामी पनि भुवा चालमा सहभागी भएका हौँ ।’

द्वापरगुगमा पाण्डव र कौरवको लडाइँपश्चात पाण्डवको विजयीपछि मनाउने पर्वमा भुवामा पुरूषले मात्रै भुवो खेल्दै आएका थिए । सिन्धुघाँटीको सभ्यतादेखि फैलिँदै आएको हिन्दू समुदायमा पुरूषलाई फरक क्षमता भएको देखाउन पनि समुदायले महिलालाई बन्देज गरेको थियो । ‘थाहा पाउने उमेरदेखि नै आफ्नो रहरलाई थन्क्याउँदै पुरूषले खेलेको भुवोमा रमाउँदै आएका थियौँ’, स्थानीय धनलक्ष्मी खत्रीले भनीन् ‘अब समय फेरिएको छ । महिलालाई फरक तरिकाले हेर्ने नजर बदलिँदै गएका छन् । संस्कार, संस्कृति, परम्परालाई जोगाउन पुरूषभन्दा महिलाको जिम्मेवारी बढी हुँदै गएको महसुस पनि भइरहेको छ ।’

navjiwan hospital

उनका अनुसार अहिले धेरै गाउँहरू पुरुषविहीनजस्तै छन् । ‘परदेशमा जाने पुरुषको सङ्ख्या बढी छ । गाउँघरमा जन्तीदेखि मलामी नपाउने अवस्था भइसक्यो । बालबालिका, वृद्ध र महिलाको सङ्ख्या मात्रै गाउँमा छ । अब पुरुषले गर्ने हरेक काम महिलाले गर्नुपर्ने बाध्यात्मक परिस्थिति नै आइसक्यो’ उनले भनीन् ।
खप्तडछान्ना –४ की सरस्वती रोकायाले समाज परिवर्तन आफैँबाट सुरू गर्नुपर्ने बताउन्छिन् । ‘महिलाहरू चुलोचौकामा मात्रै सीमित होइन, हरेक गतिविधिमा अगाडि सर्नुपर्छ’ उनले भनीन् ‘हरेक पर्वहरू हेर्ने हो भने पनि महिलाबिना शोभा नै देखिँदैन । त्यसैले घरदेखि चुलोचौकासम्म नै महिलाको उपस्थिति अति आवश्यक छ ।’ पर्वहरूमा सामेल गराएजस्तै अन्य ठाउँमा पनि महिलालाई सहभागिता गराउनुपर्ने उनले बताइन् ।

‘देउता रिसाउने भन्दै महिलाले चाहेर पनि भुवा खेल्न पाएका थिएनन्’, खप्तडछान्ना गाउँपालिका–४ का पुष्पराज रोकायाले भनीन् ‘अहिलेको पिँढी महिलालाई कुनै ठाउँमा पनि बन्देज गर्नुहुँदैन भन्ने पक्षमा छ । त्यसैले यस पर्वमा पनि महिलाई सहभागी गराइएको हो ।’ उनका अनुसार राज्यले पनि महिला भन्दैमा आरक्षण कोटामा खुम्च्याउनु हुँदैन । प्रतिस्पर्धामा जाने हो भने महिला कुनै कुरामा पनि कम नहुने उनले बताइन् । ‘अहिले खप्तडछान्नामा महिलाले खेलेको भुवाको आकर्षण नै बेग्लै छ’ उनले भनीन् ‘ढाल तरबार छुनै नपाउने महिलाहरू पहिलो दिन अनुभव गर्दै दोस्रो दिनदेखि मौलिक पोशाकमा सजिएका महिलाको भुवानाच कुनै पुरुषको भन्दा कम थिएन ।’

भुवापर्व लयात्मक शैलीमा भट्याउँदै ढाल तरबारले चालमा नाच्ने पर्व हो । पाण्डवहरू वनबास भएको बेला भेष बदलेर हिमालय पर्वतदेखि भारत वर्षका विभिन्न ठाउँमा घुमेको र त्यहाँ विकास निर्माणका काम गर्नका लागि स्थानीयवासीको सहभागिता जुटाएको भन्ने किंवदन्ती छ । त्यसैअनुसार विभिन्न गाउँमा भुवापर्वको आयोजना गरी युद्धाभ्यास गराएको कथा पनि यस नाचमा प्रस्तुत गर्ने गरिन्छ ।

हरेक गाउँमा मनाइने भुवापर्वको समयमा केही घटना घटे वा त्यस समयमा परिवारमा कसैको ज्यान गए सो समुदायले आफूलाई अशुभ हुने जनाउँदै मनाउन छाडेको स्थानीय माधव जोशीले बताए ।

रासस