धनगढी – कैलालीको लम्कीचुहामा विद्यालयबाट घर फर्किएकी बालिका खोलामा मृत फेला परेकी छिन । मंगलबार निर्धारित समय अगावै विद्यालयमा छुट्टी भएपछि एक्लै घर फकिरहेकी लम्कीचुहा नगरपालिका–१ स्थित जनचेतना प्राथमिक विद्यालयमा नर्सरीमा अध्ययनरत ६ वर्षीया मनिषा विक बुधबार विहान मृत फेला परेकी हुन ।

बालिकालाई उनकी हजुरआमाले विद्यालय पु¥याउने ल्याउने गरेकी थिइन । मंगलबार बिहान ७ बजे उनकी हजुर आमाले विद्यालय छोडेकी थिइन । ११ बजे विदा हुने भएकाले उनकी हजुर आमा सोही समयमा विद्यालयमा पुगेकी थिएन । तर, विद्यालयले सो दिन ९ बजे नै विदा गरेको थियो । हजुरआमा ११ बजे मात्र विद्यालय लिन आउँदा मनिषा विद्यालयमा थिइनन् ।


बालिका बेपत्ता भएपछि खोजी कार्य तीव्र पारिएको थियो । बुधवार प्रहरी र स्थानीयले खोजतालास गर्ने क्रममा लाम्कीचुहा–५ चौरीस्थित रोरा खोला किनारमा मनिषाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएपी योगेन्द्र तिमिल्सिनले जनाकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















