बझाङ छान्ना – खप्तडछान्ना गाउँपालिका–५ का भरत गिरीलाई अहिले हलो समात्नै झमेला लाग्छ । उनले हलो नसमात्ने अडान नै लिएका छन । गोरु जोतेर ढाड दुखाउनुभन्दा एकै छिनमा ट्रयाक्टर जोतेर घर फर्कनु आनन्द भएको उनले बताए । ‘कसैले पणिमा मागे पनि बरु सित्तैमा ट्रयाक्टर लगाइदिन्छु तर, हलो समात्न भने मनै लाग्दैन’ उनले भने ‘गोरु जोतेरै बूढो भइसके । मेरै घरमा दर्जनभन्दा बढी हल गोरु फेरबदल भए तर, कहिल्यै समयमा काम सकिएन । न त सोचेजस्तो काममा रहर नै लाग्यो । अहिले ट्रयाक्टरले धेरै सजिलो भएको छ ।’
उनका अनुसार अहिले हाते ट्रयाक्टरले १० दिनमा हुने काम एकै दिनमा हुने गर्छ । छिटो पनि हुने, सजिलो पनि हुने हुँदा अहिले कृषकका लागि ट्रयाक्टर नै विकल्प भएको उनि बताउछन । तीन वर्षअघि जयपृथ्वी नगरपालिका–९ का यादवी जोशीको घरमा भर्खर किनेका एक हल गोरु थिए । चरिचराउन गर्न वन नभएको हुँदा उनी असार र मङ्सिरबाहेक बाँकी समय पल्लो गाउँ चरिचराउनका लागि पु-याउथे ।
उनको घरमा गोरु भएपछि छिमेकीले समेत खेत जोत्ने मौका पाउँथे । घरमा ल्याएपछि दुई महिना गोरु दैनिकजसो जोतिन्थ्यो । पानी नलाग्ने ठाउँमा त कहिल्यै महिनासमेत कुर्नुपर्दथ्यो । गोरु जोत्ने बेलामा ठूला खेतमा त दुई हल गोरुसहित दुई दर्जनभन्दा बढी खेतालाको काम हुन्थ्यो ।


गत मङ्सिरमा एक जना आफन्तले हाते ट्रयाक्टर किनेर ल्याए । उनले आफ्नो खेती मात्रै नभई तीन/चार जना छिमेकीकै खेती बनाए । त्यो देखेर उनको परिवारले पनि गोरुको ठाउँमा ट्रयाक्टर नै राख्ने सोच बनायो । किनेका गोरु बिक्री गर्न खोजे पनि किन्ने मान्छे नै भेटिएनन् । पछि अर्कै पालिकाका मान्छेलाई उनको परिवारले सित्तैमा एक हल गोरु दियो । ट्रयाक्टर ल्याइसकेपछि भने थोरै जनशक्तिमा पनि धेरै काम, छिटो हुन थालेको उनि बताउँछन ।
जयपृथ्वी नगरपालिका–९ पिठालेखकी सीता थापाले पनि तीन वर्ष अगाडि हाते ट्रयाक्टर किनीन् । गोठमा भएका गोरुलाई बेचेर कृषिको अनुदानसहित ७० हजारमा ट्रयाक्टर भित्र्याएकी उनको रोपाइँ गर्न महिनाभरि लाग्ने खेतको काम हप्ता दिनमै सकिन थाल्यो । उनी सुरू–सुरूमा आफ्नो मात्रै नभएर छिमेकीको खेतमा मद्दत गर्न थालिन । पछि डिजेलको मूल्य बढ्दै जाँदा ट्रयाक्टर भाडामा समेत प्रयोग गर्न थालेको उनि बताउँछीन । ट्रयाक्टरमा डिजेल भर्ने तथा केही रकम लिएर छिमेकीको खेत जोत्ने गरेको उनले सुनाईन ।
उनको देवलको खेतमा पहिले दुई दिन गोरु जोत्नै लाग्थ्यो । बीस जनाले रोपाइँ गर्थे । गहुँको सिजनमा पनि दुई दर्जन मान्छे चाहिन्थे । हलीसहित सात/आठ जना पुरुषले बिहानैदेखि खट्नुपथ्र्यो । आजभोलि भने तीन/चार घण्टामै काम सकिने गरेको छ । ‘आज पनि हामी दुई जना मात्रै थियौँ । तीन घण्टामै जोतेर सकियो । रोपाइँको दिनमा पनि थोरै मान्छे भए नी पुग्छ’ उनले भनीन ।

महिलाले ट्रयाक्टर जोत्नु हुँदैन
अन्धविश्वासका कारण नगरपालिकाभित्रका महिला गोरु मात्रै नभएर ट्रयाक्टरसमेत जोत्दैनन् । ‘हाम्रोतिर गोरु पनि पुरुष, ट्रयाक्टर पनि पुरुषले नै जोत्छन्’ उनले भनीन ‘यहाँ त महिलाले अहिलेसम्म हलो छोएकै छैनन् । ट्रयाक्टर पनि जोत्दैनन् ।’ महिलाले हलो जोत्दा देउताले रिसाउने भन्ने पूर्खाको भनाइलाई पालना गरेको अर्की कृषक लक्ष्मी जोशीले बताईन । ‘हाम्रोतिर अहिलेसम्म कुनै महिलाले हलो जोत्यो भन्ने सुनेका पनि छैनौँ । मैले जोत्ने त परको हो’ उनले भनीन ।
गाउँमा कसैको बारीमा ट्रयाक्टर जोत्नु परे पनि पुरुष मान्छे नभए बारी बाँझै रहने उनले बताईन । घरमा सधैँ छोराले मात्रै ट्रयाक्टर जोत्ने गरेको उनले र छोरा नभएको बेलामा कुटो कोदालोले आफूले खन्ने गरेको उनले बताईन । उनले आफ्नोतिर मात्रै नभई माइतीघरमा समेत पुरुषले मात्रै ट्रयाक्टर जोत्ने गरेको बताईन । ‘ट्रयाक्टर जोत्न एकदमै सजिलो हुन्छ भन्छन्, थकाइ पनि लाग्दैन रे तर, हामीले भने अनुभव गरेका छैनौँ’ उनले भनीन । खेतमा गोरु जोत्नुभन्दा ट्रयाक्टर जोत्नु धेरै सजिलो हुने पिठालेककै कृषक सुनिल थापाले बताए । ‘मेसिनरी चिज र पशुहरूमा धेरै फरक हुन्छ । गोरुलाई लाइनमा ल्याउनै मुस्किल पर्छ । मान्छे पनि धेरै हुनुपर्छ । ट्रयाक्टर चलाउन भने जसले पनि सक्छ ।’
‘ट्रयाक्टरले उत्पादन घटायो’
हाते ट्रयाक्टरको प्रयोगपछि हलोको भन्दा बढी उत्पादन घटेको कृषक बताउँछन् । देवलकी कृषक लक्ष्मी जोशीले भनीन ‘हाम्रो खेतमा ट्रयाक्टर चलाएको तीन वर्ष भयो । तीनै वर्ष धान उत्पादनमा कमी आयो । गहुँ पनि उत्पादन घटेको छ ।’ उनले आफ्नो खेतमा तीन कट्ठा गहुँ हुने ठाउँमा अढाइ कट्ठा मात्रै गहुँ उत्पादन भएको बताईन ।
‘ट्रयाक्टरले गहिरो भएर हो कि के हो । गोरुले जोतेअनुसारको गहुँ हुँदैन’ खप्तडछान्ना गाउँपालिका–५ कि कविता हमालले भनीन ‘धान भने पहिलेकै जति उत्पादन भइरहेको छ । गहुँमा भने अघिल्ला वर्षहरूको भन्दा उत्पादन केही घट्यो ।’ उनले हलोले जोतेमा गहिरो हुने र ट्रयाक्टरले जोतेमा मथलो (कम गहिरो) हुने हुँदा उत्पादनमा केही कमी भएको बताईन । उनले भनीन ‘हलोले गहिरो खनेर मलभित्र जाने र ट्रयाक्टरले मथलो खनेर गोठे मल सुकेर जाने हुँदा उत्पादनमा कमी आएको हामीले अनुमान गरेका छौँ ।’ जयपृथ्वी नगरपालिकाले भने हाते ट्रयाक्टरले नभई अन्य कारणले उत्पादन कम भएको हुनसक्ने दाबी गरेको छ । रासस



















