अत्तरिया – कञ्चनपुरको कृष्णपुरका – ७ का योगेश पनेरुलाई (नाम परिवर्तित) असार ९ गते साँझ ४ बजे ९७१४०७७०४९ नम्बरबाट फोन आउँछ । फोन गर्ने व्यक्तिले उनलाई ई सेवामा ६ हजार रिवार्ड पोइन्ट पुगेको जानकारी दिन्छन् । ई सेवा कम्पनीबाट बोलेको बताउने उनले रिवार्ड पोइन्टलाई रकममा बदल्न सकिने सुझाव दिन्छन् । आफ्नो मोबाइलमा जम्मा भएको रिवार्डको सङ्ख्या बताएकाले उनी कम्पनीकै मान्छे होला भनेर कुरा गर्न थाल्छन् । नम्बरको माथि पनि ई सेवा नेपाल लेखिएको हुनाले उनले सहजै विश्वास गर्छन् ।
फोनमा ती व्यक्तिले रिवार्ड पोइन्टलाई पैसामा बदल्न तरिका सिकाउँदा योगेशले सो अनुसार गर्न सक्दैनन् । ३/४ पटक सिकाउँदा पनि उनले भनेअनुसार नभएपछि ती व्यक्तिले वाट्सएप कल गरेर स्क्रिन सेयर गर्न सुझाव दिन्छन् ।


फोनमा बुझाएको तरिकाले रिवार्डलाई पैसामा बदल्न नसकिएपछि योगेश स्क्रिन सेयर गर्न तयार हुन्छन् । वाट्सएप कल आउँदा पनि ई सेवा नाम लेखेको आएपछि उनी कम्पनीकै होला भनेर ढुक्क हुन्छन् । योगेशको मोबाइल स्क्रिन ती व्यक्तिको हातमा परेपछि उनी सिधै पैसा निकाल्दैनन् । योगेशलाई रिवार्ड पैसामा बदल्ने कुरामै भुलाउँछन् ।
एक घण्टा गफ गरेपछि जब ५ बज्छ तब योगेशको ई सेवामा लिङ्क भएको सिद्धार्थ बैंकबाट १ लाख निकालेको मेसेज आउँछ । लगतै ३३ हजार ८ सय निकालेको मेसेज आउँछ । योगेश आत्तिएर बैंकको अत्तरिया शाखामा फोन गर्छन् । गार्डले फोन उठाएर बैंक बन्द भएको जानकारी दिन्छन् । स्क्याम गर्ने व्यक्ती त्यतिकैमा रोकिदैनन् । उनले योगेशको खल्ती वाई आइएमई वालेटबाट पनि २८ हजार ९ सय निकाल्छन् ।
मोबाइलमा पैसा निकालिएको मेसेज आउन थालेपछि उनी आफ्नो एपमा गएर बन्द गर्न खोज्छन् तर उनको एपमा अन्य मोबाइलमा एप खुलेको नोटिस देखिन्छ । योगेशले ती एपबाट आफ्नो नियन्त्रण गुमाउँछन् ।
‘मेरो ई सेवामा भएको रिवार्ड पोइन्ट भनेकाले म ई सेवा कम्पनीकै मान्छे होला सोचे । उसले पैसा निकाल्नु अघि गरेका कुरामा मैले आशङ्का पनि गर्न सकेन’ योगेशले भने ‘पैसा सबै निकालेपछि अनलाइन ठगीमा परेको थाहा भयो ।’

उनले हाल बैंक र वालेट एप आफ्नो नियन्त्रणमा ल्याएपछि स्टेटमेन्ट हेर्दा फरक फरक व्यक्तिलाई पठाइएको पाइएको बताए ।
ती व्यक्तिले सिद्धार्थ बैंकको रकम ई सेवा मार्फत उत्तम शाह बिल पे मा पठाएको र खल्ती वाई आइएमीको रकम अभिशेख कुमार बर्नवाल (९७६७७२९६७९) मा पठाएको पाइएको उनले बताए । उनले ती व्यक्तिले आफ्नो ई सेवाबाट ९७१४०७७०५० मा रिचार्ज पनि गरेको पाइएको बताए ।
प्रहरीले देखायो फाइलको थुप्रो
एक प्रतिष्ठित संस्थामा काम गर्ने योगेशले आफू अनलाइन ठगीमा परेको उजुरी ठगिएको भोलिपल्टै असार १० गते इलाका प्रहरी कार्यालय मालाखेतीमा दिएका थिए । तर, उजुरी दिने क्रममा प्रहरीले यस्ता थुप्रै घटना हुने गरेको भन्दै उजुरीका फाइलको थुप्रो देखाएको उनले बताए । उनले प्रहरीले यस्ता व्यक्तिले धेरै नम्बर प्रयोग गरेका हुने भएकाले पक्राउ पर्ने सम्भावना ५० प्रतिशत मात्रै रहने भनेर पठाएको बताए । ‘म यस्ता अनलाइन ठगिबाट जोगिनुपर्छ भनेर अरूलाई भन्दै हिँड्ने मान्छे हो । तर, त्यो दिन अलि सन्चो पनि थिएन । म कसरी झुक्किएर त्यसको कुरामा विश्वास गर्न पुगे भनेर आफै अचम्ममा परेको छु’ उनले भने ‘म ठगिएपछि अरू पनि नठगिउन् भनेर मैले प्रहरीलाई सबै कागजात सहित निवेदन दिएको थिए । प्रहरीले पनि ५०–५० मात्रै पत्ता लाग्ने सम्भावना हुन्छ भने ।’ उनले प्रहरीमा निवेदन दिएको एक साता सम्म पनि कुनै खबर प्रहरीबाट नपाएको बताए ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी हिरा महराले बैंकिङ कसुर अनलाइन ठगीका धेरै मुद्दा आउने गरेको बताए । उनले निवेदन आएको बारेमा अनविज्ञता प्रकट गर्दै ठगिएको व्यक्तिलाई भेट्न आउन आग्रह गरे ।
पछिल्लो समय नेपालमा अनलाइन माध्यमबाट हुने ठगीका घटनामा वृद्धि भएको छ । प्रहरीले यस्ता घटनाबाट जोगिन सचेत पनि गराउँदै आएको छ । अनलाइनमा सस्तो दरमा सामानहरू देखाइ अग्रीम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी वाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाउनले र ओटीपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराधका घटना बढ्दै गएका छन ।
















