खाेज्नुहाेस

दार्चुला घटनामा भारतीय पक्षद्धारा गल्ती स्वीकार

Image

सडक निर्माणका क्रममा भारतीय पक्षले विस्फोट विस्फोट गराउँदा दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनामा भारतले गल्ती स्वीकार गरेको छ । पीडित परिवारसँगको छलफलका क्रममा शनिबार भारतीय पक्षले गल्ती स्वीकार गरेको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए ।

‘अहिले हामी छलफलमै छौँ, भारतीय कम्पनीले गल्ती स्वीकार गरेको छ,’ उनले भने, ‘अरु बालबच्चालाई कक्षा १२ सम्म पढाउने र परिवारको एक जनालाई कम्पनीमा रोजगारी दिने भनेका छन्, पीडित परिवारले भने उचित क्षतिपूर्ति माग गरेका छन ।’ विस्फोट गराउने निजी कम्पनी भएकाले आफूहरुलाई रोजगारीभन्दा पनि उचित क्षतिपूर्ति दिइनुपर्ने पीडित परिवारको माग छ ।

attariya hospital
navjiwan hospital

महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक फराकिलो गर्ने क्रममा गर्ग एन्ड गर्ग कम्पनीले विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर व्यास गाउँपालिका–२ दुम्लिङका १२ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो ।

घटनापछि शनिबार पीडित परिवारलाई लिएर दार्चुलाका जनप्रतिनिधिको टोली छलफलका लागि भारत गएको थियो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बिना सूचना विष्फोट गराएर ज्यादती गरेकोले यथाशीघ्र यस्तो गतिविधि रोक्न उनीहरुले भारतीय पक्षलाई आग्रह गरेका छन् ।

‘पहाड फुटाउनका लागि गरिने विस्फोटले नेपालीले बारम्बार दुःख पाउने गरेका छन्, आइन्दा यस्तो घटना नघटून्, त्यसका लागि के गर्ने, सोच्नु पर्छ,’ पालिका अध्यक्ष धामीले भने, ‘विस्फोटले नेपालतर्फ पैदल हिँड्ने बाटो समेत हिँड्न लायक छैन ।’