धनगढी – सहसचिवस्तरको प्रमुख जिल्ला अधिकारी सीडीओको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा गृह मन्त्रालयले फेरि उपसचिवलाई नै प्रमुख जिल्ला अधिकारीका रूपमा खटाएको छ । गृह मन्त्रालयको शुक्रबारको निर्णयअनुसार उपसचिव मीना अर्याललाई डडेल्धुराको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको हो । अर्याल यसअघि तेह्रथुमको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिइन् ।

डडेल्धुरामा यसअघि सहसचिव विष्णुप्रसाद कोइराला प्रमुख जिल्ला अधिकारी थिए । कोइरालाको करिब पाँच महिनामै सरुवा भएपछि जिल्ला प्रशासन कार्यालय करिब दुई महिना प्रमुख जिल्ला अधिकारीविहीन बनेको थियो ।

त्यसपछि सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत उपसचिव अमरबहादुर वलीलाई जेठ २७ गते प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको थियो । त्यसयता उनले जिल्लाको प्रशासनिक नेतृत्व सम्हाल्दै आएका थिए ।
शुक्रबार फेरि उपसचिव अर्याललाई प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएपछि वली अब सोही कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीकै भूमिकामा फर्किनुपर्ने अवस्था बनेको छ । केही समयअघि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका वलीले अब नयाँ प्रमुख जिल्ला अधिकारीको मातहतमा काम गर्नुपर्नेछ ।



















