दार्चुला – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुलाको ब्यास गाउँपालिका–२ तम्पाकुक ९ वर्षीय पवन महरा मृत्युको कारण छानबिन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । साथै उनले राहतका लागि पहल सुरु गर्न पनि निर्देशन दिएका छन् ।
महाकालीपारि पिथौरागढ जिल्लाको धार्चुला तहसिलमा सडक कटानका क्रममा चट्टान फुटाउन बिस्फोट गर्दा उछिट्टिएको ढुंगा लागेर बालकको ज्यान गएको बारे मृतकका परिवारले आफूलाई जानकारी दिएको बताए ।
यसको यथार्थ छानबिन गरी तत्काल भारतीय पक्षलाई जानकारी गराउन प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई निर्देशन दिएका छन ।


महाकालीपारि पिथौरागढ जिल्ला धार्चुला तहसिलमा गर्ग एन्ड गर्ग कम्पनीले सडक निर्माण गरिरहेको बेला यो घटना भएको स्थानीयले बताए ।
सडक निर्माणका क्रममा विस्फोट गर्दा सीमासँग जोडिएको ठाउँका बारेमा नेपाली पक्षलाई जानकारी नदिएर भारतीय निर्माण पक्षले काम गर्दा यस्तो दुर्घटना भएको स्थानीयको बुझाइ छ ।
यो विषयमा गम्भीर त्रुटि गरेकाले कूटनीतिक माध्यमबाट सरकारलाई क्षतिपूर्तिका लागि माग गरेको मन्त्री बडुले बताए ।
उनले भने, ’गृह र परराष्ट्र मन्त्रालयलाई समेत यस विषयलाई गम्भीरताका साथ लिई राहत र क्षतिपूर्तिका लागि पहल गर्न ध्यानाकर्षण गराइसकेको छु ।’



















