भीरबाट लडेर मृत्यु भएको भनिएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ साम्नेगाउँका ७० वर्षीय वीरबहादुर गमालको हत्या भएको रहस्य खुलेको छ ।
गमालको गत बुधबार साँझ भीरबाट लडेर मृत्यु भएको भनिए पनि उनी आफैं लडेको नभई उनकै दाजु ७४ वर्षीय हिमबहादुर गमालले धकेलेर हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सन्धिखर्कका अनुसार मृतक वीरबहादुर र उनका दाइ हिमबहादुर गत बुधबार सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता बापतको रकम लिन बैंकमा सँगै गएका थिए ।
भूमिकास्थान नगरपालिका वडा नं ४ धारापानीमा रहेको शाइन रेसुङ्गा बैंकबाट सामाजिक सुरक्षा भत्ता बापतको रकम बुझेर सँगै घर फर्किंदै गर्दा उनीहरूका बीचमा बाटोमै लेनदेनको विषयमा सामान्य विवाद भएको थियो ।
विवाद बढ्दै जाँदा एकअर्कालाई धकेलाधकेल गर्दा हिम बहादुरले वीरबहादुरलाई खलाधार भीरबाट धकेलिदिएपछि उनको मृत्यु भएको थियो ।
उक्त घटनाबारे सूचना पाएपछि घटनास्थल पुगेको प्रहरीले अनुसन्धान गर्दै जाँदा वीरबहादुरको भीरबाट आफैं लडेर मृत्यु भएको नभई उनकै दाजु हिमबहादुरले धकेलेर मृत्यु भएको पुष्टि गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सन्धिखर्कका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले उक्त घटनाको प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्न हिम बहादुरलाई पक्राउ गरी थप अनुसन्धान सुरू गरेको जानकारी दिए ।