अत्तरिया – विश्व प्रविधि मैत्री बनेको छ । विभिन्न प्रविधिहरुको प्रयोगले दैनिक जिवनयापनलाई सहज बनाउने भएकाले प्रायजसो मानिसहरुले अहिले प्रविधिको बढी जसो प्रयोग गर्दछन । नेपालमा पनि विभिन्न प्रविधिहरु भित्रिसकेका छन । नेपालका पुर्विक्षेत्रहरुमा प्रविधिको अधिकतम प्रयोग गरि मानिसले आर्थिक कारोबारहरु गरिरहेको प्राय सुन्नमा आउँछ । तर सुदूरपश्चिममा भने प्रविधिको खासै प्रयोग भएको देखिदैन । सुदूरपश्चिमका सात जिल्ला पहाडी क्षेत्रमा पर्दछन । त्यहाँ प्रविधिको बारेमा अझै जानकारी नभएकाले पनि हुन सक्दछ, सुदूरपश्चिम प्रविधिको मामिलामा कमजोर छ । प्रविधिमा कमजोर सुदूरपश्चिममा कृषिमा प्रविधि जोडिएको छ भन्ने सुन्दा भने पत्यार नलाग्न सक्छ । हुन पनि हो, भौतिक पुर्वाधार निर्माण होस या अन्य कार्यमा यहाँका मानिसहरु स्वयम् खटिन्छन, प्रविधिको प्रयोग गर्दैनन भने कृषिमा प्रविधि प्रयोग गर्ने त कुरा नै आउदैन ।
तर कृषिमा प्रविधि जोडेर सुदूरपश्चिमकै एक किसान करोडौ खेलाईरहेका छन । कैलालीको धनगढी उपमहानगरपालिका – ५ का रबिनकान्त पन्त अहिले कृषिबाटै करोडौको कारोबार गरिरहेका छन । उनले प्रविधिको भरपुर प्रयोग गरेर कृषि कार्य गरिरहेका छन । जसबाट उनले वार्षिक करोडौको कारोबार गरिरहेका छन । प्रविधिमैत्री कृषि बनाउन भने उनले लगानी पनि करोडौ गरेका छन । उनले तिन ठाउँमा विभिन्न फर्महरु सञ्चालन गरिरहेका छन, जसमा उनले करिब ४० करोड लगानी गरेका छन । त्यसमध्ये उनले करिब १४ करोड जती बैंकबाट ऋण लिएका छन भने बाँकी उनको आफ्नै लगानी हो ।
कैलालीकै गोदावरी नगरपालिका – १ विजौरामा ५ विगाहा जमिनमा उनले कृषि काम गरिरहेका छन । त्यसैगरी फुलबारीमा फार्महाउस एग्रो भनेर २३ विगाहामा कृषि काम गरिरहेका छन भने खप्तड डेरी ईन्डष्ट्रिज पनि सञ्चालन गरिरहेका छन । विजौरामा २ विगाहा जमिनमा उनले माछा पालन गरिरहेका छन । जसमा उनले प्रविधिको उच्चतम प्रयोग गरेका छन । माछाको संरक्षण र स्टोरका लागी पनि उनले प्रविधिको प्रयोग गरेका छन ।
ब्याचलर सम्म कमर्श र त्यसपछि सोसीयोलोजीमा मास्टर्स डिग्रि गरेका पन्तले बिजौरामा करिब १० लाख माछाका भुराहरु राख्ने गरी माछापोखरी बनाएका छन । त्यो माछापोखरीका माछाहरुलाई स्टोर गर्नका लागी उनले दुई वटा फाईबरको ट्यांकी पनि निर्माण गरेका छन । पन्तले आवश्यक परेका बेला किसानलाई र ग्राहकलाई सहजै माछा उपलब्ध गराउने उद्देश्यले उक्त ट्यांकहरु निर्माण गरेको बताए ।
उनले माछापालन गर्ने ठुला व्यापारीहरु नभएकाले र बजारको प्रचुर सम्भावना भएकाले माछापालनलाई बढी महत्व दिएको उनले बताए । ‘माछाको उत्पादन र बजारमा ठुलो ग्याप छ, यो क्षेत्रमा माछाको ठुलो व्यापारी पनि छैनन’ उनले भने ‘माछामा बजारको सम्भावना पनि प्रचुर छ, कैलाली र कञ्चनपुरले प्रदेशका सबै जिल्लाहरु भ्याउनुपर्ने हुन्छ, त्यसैले यसैलाई रोजेको हुँ ।’
उनले सिजनमा माछाको अभाव हुने र सिन्डिकेट लाग्ने भएकाले प्रविधिको प्रयोग गरेको बताए । उनले माछा पालनमा आवश्यक विद्युतलाई सोलार प्रविधिबाट चलाएका छन । सोलारबाट चल्ने अटोमेटिक बोरिङ, लाईट लगायतका वस्तुहरु उनले उक्त कृषि फर्ममा जडान गरेका छन । प्रविधिको प्रयोगले कृषि कार्यमा सहजता र सहुलियता प्रदान गर्ने उनको विश्वास छ ।
लामो समयदेखी विभिन्न प्रोजेक्टहरुमा कृषि सम्बन्धी काम गरेको अनुभवले गर्दा कृषि काम गर्ने उत्प्रेरणा मिलेको उनि बताउँछन । ‘धेरै ठाउँहरुमा कृषि सम्बन्धी काम गरे, त्यसबाट अनुभव प्राप्त गरेपछि अरुमा काम गर्नुभन्दा आफैले किन सुरुवात नगर्ने भनेर कृषिमा हात हालेको हु’ उनले भने ‘अहिले फुलबारीमा फार्महाउस एग्रो भनेर २३ विगाहामा कृषि काम गरिरहेको छु भने यहाँ ५ विगाहा जमिनमा कृषि काम गरिरहेको छु ।’
करिब १५ वर्ष देखी कृषि कार्य गर्दै आएका उनले कृषिमा डेरी सञ्चालन गर्ने, कृषि प्रविधि, कृषि बजारीकरण गर्ने मात्रै नभई कुखुरा, माछा तथा गाईपालनको कार्यहरु पनि गर्दै आएको बताए ।
कृषिमा प्रविधि जोड्न भने विभिन्न देशको भ्रमण, एनजिओ, आईएनजिओहरुमा काम गरेको अनुभव र अध्ययनले सिकाएको उनले बताए । उनले पानीको प्रेसर बढाउन घरमै प्रेसर सिस्टम जडान गरेका छन भने माछाहरुका लागी जमिनको सतहबाट अक्सिजन दिन सक्ने मेसिन जडान गरेका छन । त्यसका साथै माटोबिना घाँस उमार्न सकिने हाईड्रोफोनिक ग्रास फुडरको प्रविधि जडानको पनि उनले तयारी थालेका छन । कृषिलाई प्रविधिसँग जोडे उत्पादनमा पनि वृद्धि हुने र कार्य गर्नमा पनि सहजता मिल्ने उनको भनाई छ ।
कृषि कार्यबाट प्रत्यक्ष रुपमा सय भन्दा बढी मानिसलाई रोजगार दिएको उनि बताउँछन । उनका अनुसार उनको सबै फर्महरुमा प्रत्यक्ष रुपमा ११५ जनाले कर्मचारीको रुपमा काम गरिरहका छन । उनले अप्रत्यक्ष रुपमा किसानहरुलाई पनि जोड्दा रोजगारी पाउने मानिसको संख्या बढी हुने बताए । उनले बैंकको ऋण तिर्ने र कर्मचारीहरुलाई सेवासुविधाहरु दिने काम फर्महरुको उत्पादनबाट नै गरिरहेको बताए ।
करोडौको कृषि काम गरिरहे पनि सरकारी निकायबाट भने अनुदान नपाएको उनले बताए । ‘मैले कृषिमा करोडौ लगानी गरेको छु, तर अहिलेसम्म चानचुन ५ लाख जति अनुदान पाएको छु’ उनले भने । उनले सरकारले अनुदानलाई अन्तिम उत्पादन सँग जोड्नुपर्ने बताए । उनका अनुसार सरकारले प्रपोजल लेखेको कारणले नभई कृषकहरुले उत्पादन गरेको बस्तुका आधारमा अनुदान दिनुपर्दछ । त्यसो गरे कृषि काम गर्ने सबै कृषकहरुले सरकारको सहयोग पाउने उनले बताए ।
उनले युवाहरु काम नभएर बाहिर जाने कुरा व्यर्थ भएको बताए । ‘जटिलता छ, तर हामीसगँ काम नभएर युवाहरु बाहिर जाने हैनन’ उनले भने ‘युवाहरुले गर्ने कामको सम्मान नभएर उनिहरु बिदेशिरहेका छन । विदेशमा गर्ने काम नेपालीले आफ्नै ठाउँमा गर्न सक्दैनन ।’
उनले धनगढीमा फोहोरमैला व्यवस्थापनको लागी पनि कार्य थालिरहेको बताए । वल्र्ड बैंक, एईपिसि र धनगढी उपमहानगरपालिकासँग मिलेर फोहोरमैला बाट ग्यास र अर्गानिक मल उत्पादन गर्ने गरी सम्झौता भएको र केही दिनभित्रै सञ्चालनमा आउने उनले बताए । उनले धनगढी उपमहानगरपालिका – १४ मा गौशाला पनि बनाउने तयारी गरिरहेको बताए ।
बजारमा छाडा छोडिएका गाईहरुमध्ये राम्रो नस्लको सम्भावना भएका गाईहरुलाई छनौट गरी नस्ल सुधार गर्ने र त्यसलाई विजनेश मोडलको रुपमा लैजाने गरी गौशाला निर्माणको तयारी थालिरहेको उनले बताए । उनका अनुसार त्यसबाट बजारमा छोडिएका गाईहरुको व्यवसायीक व्यवस्थापन पनि गर्न सकिनेछ । पछिल्लो समय कृषि काम गरेरै आत्मनिर्भर बन्न युवाहरुल पनि व्यवसायीक रुपमा कृषि पेशालाई अंगाल्न थालेका छन ।