कञ्चनपुर – सशस्त्र प्रहरीले कञ्चनपुरबाट भारत तस्करी गरिदै गर्दा १२ भैसीको उद्दार गरेको छ । बेल्डाँडी गाउँपालिका–५ को शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकै चराइरहेको अवस्थामा पाँच जनाको समूहमा आएका भारतीय तस्करले भारत तर्फ लैजादैं गरेका भैसी प्रहरीले बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी मातहतको बिओपी झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारीको नेतृत्वमा खटिएको टोलीले स्थानीय र भारतीय एसएसबी सँगको समन्वयमा शनिबार सीमा देखि झण्डै ८ किलोमिटर टाढा भारतको पिलिभितमा फेला पारेर ति भैसी नेपाल ल्याएको जनाएको छ ।


फेला पारेका ति भैसी नेपाल ल्याएर सम्बन्धित व्यक्तिलाई बुभाईएको सशस्त्र प्रहरीले जनाएको छ ।
भारतबाट बरामद गरिएका ति भैंसीमध्ये बेल्डाँडी गाउँपालिकाका शंकर थापाको २ भैंसी, नवराज कठायतको १ भैँसी, गोमा रावतको २ रागा, चन्द्र बहादुर रावतको १ राँगा र ४ भैँसी, तेज बहादुर रावतको एउटा भैँसी र १ वटा भैसी छन् ।
स्थानीय शिव उपाध्यायको एउटा राँगा भने फेला नपरेको सशस्त्र प्रहरीले जनाएको छ । शुक्रबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकै सीमा क्षेत्रमा भैँसी चराइरहेका बेला स्थानीय अरुण उपाध्यायलाई डर धम्की देखाएर तस्करको समूहले भैँसी र राँगा चोरेर भारततर्फ लगेको थियो ।



















