खाेज्नुहाेस

धनगढी हुँदै ताक्लाकोट सम्म द्रुतमार्ग निर्माण गरिने छ : मन्त्री आले

Image

डोटी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढी–डोटीको बिपीनगर, गडसेरा तथा बझाङ उरै हुँदै चीनको ताक्लाकोट जोड्नका लागि सिधा सडक अर्थात द्रुतमार्ग निर्माण गरिने बताएका छन् ।

कैलालीको धनगढीमा रहेको गेटा विमानस्थल क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको विमानस्थल स्तरोन्नतिका साथै धनगढी–डोटीको बिपीनगर, गडसेरा तथा बझाङ उरै हुँदै चीनको ताक्लाकोट जोड्ने सडकको पूर्वाधार निर्माण तथा स्थानीयवासीसँग सुझाव सङ्कलनका लागि डोटीको जोरायल गाउँपालिका–५ गड्सेरा पुगेका मन्त्री आलेले यहाँका स्थानीयवासीसँगको भेटघाट तथा छलफलका क्रममा उक्त सडक निर्माण गरिने बताए । उनले भने, ‘कैलालीको धनगढीदेखि चीनको ताक्लाकोट सम्म जोड्न आफूले द्रुतमार्ग निर्माणका लागि पहल सुरु गरेको छु, सो सडक निर्माण हुनेछ ।’

attariya hospital

मन्त्री आलेले विगतका सयममा सुदूरपश्चिममा विकासका काम पनि कमि हुने गरेका र बजेट पनि कम आउने भएकाले आफू मन्त्री भएपछि अहिले यहाँ बाँकी रहेका सबै विकासका काम सबै पूरा गरेर देखाउने दाबी गरे ।

यसैगरी मन्त्री आलेले कैलालीको धनगढीदेखि चीनको ताक्लाकोट सम्म सडक जोडिए चीनका पर्यटक पनि सुदूरपश्चिम आउन सहज हुने र भारतका पर्यटक पनि आउने भएकाले पर्यटक यहाँ भित्र्याउन सके यहाँको विकासमा सहज हुने जिकिर गरे ।

यहाँका नागरिकसँगको छलफलका क्रममा मन्त्री आलेले कैलालीको धनगढीदेखि चीनको ताक्लाकोटसम्म सडक अर्थात दु्रतमार्ग निर्माणका लागि आफूले एशियाली विकास बैंक (एडिबी) सँग पहल सुरु गरेकाले उक्त सडक निर्माण हुनेमा कुनै शङ्का नरहेकोसमेत जानकारी दिए । गेटा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको विमानस्थलका रुपमा विकास गर्नका लागि आफूले यसअघि रु एक अर्ब बजेट विनियोजन गरिसकेको र अबको बजेटमासमेत थप रकम आउने बताए ।

navjiwan hospital

उनले भने, ‘गेटा विमानस्थलको स्तरोन्नति तथा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि मैले केही महिना पहिले  एक अर्ब बजेट विनियोजन गरेको छु, अब थप बजेट आउछ, विमानस्थल क्षेत्रीय अन्तर्राष्ट्रिस्तरको बन्छ ।’

उक्त छलफलका क्रममा यहाँका नागरिकले मन्त्री आलेलाई कैलालीको धनगढी–डोटीको बिपीनगर, गडसेरा तथा बझाङ उरै हुँदै चीनको ताक्लाकोट जोेड्ने सडक निर्माण भए सुदूरपश्चिमको विकासमा ठूलो सघाउ पुग्ने बताएका थिए। सुदूरपश्चिमका विभिन्न गाउँमा सडक निर्माण भएका भए पनि ती सडकको स्तरोन्नति नहुँदा सडक सञ्चालनमा समस्या भएको उनीहरुले बताएका थिए ।

उनले भने, ‘मन्त्री आलेले धनगढीदेखि चीन जोड्ने दु्रत मार्ग निर्माणका लागि राय सुझाव माग्नुभएको छ, उक्त काम स्वागत योग्य छ, हाम्रा गाउँमा निर्माण भएका सडकको पनि स्तरोन्नतिसहित सुधार होस् ।’  उक्त दु्रतमार्ग निर्माणका लागि केही समय पहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा टोकराज पाण्डेको संयोजगत्वमा एक समिति गठन भएको थियो ।

रायसुझाव सङ्कलनका लागि मन्त्रालयका सहसचिव डा पाण्डे सहितको टोली हाल डोटी पुगेको हो । टोलीले अहिले उक्त दु्रतमार्ग निर्माण गरिने क्षेत्रका नागरिकसँग सुझाव सङ्कलन गरिरहेको छ ।

रासस