डडेल्धुरा – यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डडेल्धुरामा नमुना मतदान गरिएको छ । आइतबार जिल्ला निर्वाचन कार्यालय डडेलधुराले बदर मत कम गर्न जिल्ला सदरमुकाम बसपार्कमा आइतबार नमुना मतदान गरिएको हो ।
बसपार्कमा केही युवालाई जम्मा गरेर नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ । स्थानीय तहको निर्वाचनमा सात छाप लगाउनु पर्ने भनेर सिकाइएको निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए ।


‘हामी के कति निर्वाचनको बारेमा जानकार छौं । निर्वाचनका प्रक्रियाहरू केके रहन्छन् । के कसरी मतदान गर्नुपर्छ । के कसरी सहभागिता रहन्छ । भन्ने जानकारीका दिनका लागि नमुना मतदान गरेका हौं,’ उनले भने, ‘यो बाट सहभागीले केही न केही सिक्नु भएको छ भन्ने अपेक्षा गरेका छौं ।’
उनले मतदाता शिक्षा निर्वाचनको एक दिन अगाडी मात्र दिइने समेत बताए । दुई नगरपालिका र पाँच गाउँपालिका गरी सातवटा स्थानीय तह रहेको जिल्लामा चुनावको तयारी तीव्र पारिएको छ ।
कूल ९० हजार १ सय १९ मतदाता रहेको डडेलधुरामा ४४ हजार ६ सय ६४ पुरुष र ४५ हजार ४ सय ५५ जना महिला छन् । मतदाताको संख्या अनुसार मतदान केन्द्र र मतदानस्थल पनि निर्धारण गरिएको छ । जिल्लामा ८० मतदान स्थल र १ सय २६ वटा मतदान केन्द्र तोकिएको छ ।
















