खाेज्नुहाेस

सुदूरपश्चिममा यसरी हुँदैछ स्थानीय तह निर्वाचनको तयारी

Image

डोटी – डोटी सहित सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ । प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी तीव्र पारेका हुन् ।

सुदूरपश्चिमका ८८ स्थानीय तहका एक हजार १३५ मतदानस्थलमा दुई हजार १०३ मतदान केन्द्रबाट मतदान हुने व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।

attariya hospital

प्रदेशका सबै निर्वाचन कार्यालयले आज नौवटै जिल्लाका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरेको छ । अहिले निर्वाचनका लागि आवश्यक सामग्री मतदान केन्द्रमा पु¥याउने काम भइरहेको निमित्त प्रमुख भट्टले बताए ।

प्रदेशमा रहेका ८८ स्थानीय तहका प्रमुख र उपप्रमुखसहित ७३४ वडाध्यक्ष र दुई हजार ९३६ वडा सदस्यका लागि हुने निर्वाचनबाट कुल तीन हजार ८४६ जनप्रतिनिधि निर्वाचित हुने छन् ।

सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी मतदाता र मतदान केन्द्र छन्। कैलालीका १३ पालिकामा ६१९ मतदान केन्द्रमा सुरक्षाकर्मीबाहेक चार हजार बढी कर्मचारी खटिने छन् ।

navjiwan hospital

कञ्चनपुरका नौ पालिकाका ३४१ मतदान केन्द्रमा एक हजार ८०० बढी कर्मचारी खटिने भएका छन् ।

सुदूरपश्चिममा यस वर्ष १६ लाख ३२ हजार १५० मतदाताले स्थानीय तहको निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने छन् । जसमध्ये आठ लाख ३१ हजार ४७० महिला, आठ लाख ६६२ पुरुष र १८ तेस्रो लिङ्गी छन् ।

यसैगरी, डोटीका नौवटा स्थानीय तहमा रहेका मतदानस्थलको अनुगमन तथा निरीक्षण गर्ने काम सम्पन्न भइसकेको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए ।

उनले भने, ‘हामीले एक चरणमा मतदान स्थलको निरीक्षण तथा अनुगमन गरिसकेका छौँ, पुनः अर्को पटक निरीक्षणको तयारी छ ।’ कुन मतदान स्थलमा कति जना सुरक्षाकर्मी खटाउने सो विषयमा छलफल भइरहेको प्रजिअ विष्टले जानकारी दिए ।

डोटीमा पछिल्लो समय राजनीतिक दलहरू स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गाउँ पुग्न थालेका छन् ।

चुनावको मिति घोषणासँगै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रलगायत प्रमुख राजनीतिक दलले कार्यकर्ता भेटघाट, पार्टी भेला, प्रशिक्षण, बैठकलगायत कार्यक्रमलाई तीव्रता दिएका छन् ।

डोटीमा एक लाख २४ हजार १४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी दलबहादुर मलासीले जानकारी दिए ।