खाेज्नुहाेस

स्थानीय तहमा वैशाख ८ गते निर्वाचन अधिकृतको कार्यालय खुल्ने

Image

काठमाडौं – देशभरका ७५३ वटै स्थानीय तहमा वैशाख ८ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय खुल्ने भएको छ। निर्वाचन आयोगले प्रशिक्षण दिएलगत्तै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र कर्मचारी कार्यक्षेत्रमा खटिन लागेका हुन्।

navjiwan hospital

आयोगले गत चैत ३० देखि वैशाख ३ गतेसम्म निर्वाचन अधिकारी र कर्मचारीलाई निर्वाचन व्यवस्थापन तथा सञ्चालन प्रशिक्षण दिएको थियो। ‘ निर्वाचन अधिकारीहरुलाई कार्यक्षेत्रमा पुग्न वैशाख ७ गतेसम्मको समय दिइएको छ’, आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने, ‘जिल्ला निर्वाचन कार्यालयको समन्वयमा उनीहरूले स्थानीय तहमा कार्यालय स्थापनादेखि कर्मचारी व्यवस्थापनसम्मका काम गर्नेछन्।’

attariya hospital

निर्वाचन आचारसंहिता पालना गर्न गराउन पनि उनीहरुले भूमिका निर्वाह गर्ने अर्यालले जानकारी दिए। उनले थपे ‘आयोगका प्रतिनिधिका रुपमा स्थानीय तहमा पुगेका उनीहरुले निर्वाचनको सम्पूर्ण तयारीदेखि मतदान र मतगणनापछि निर्वाचित जनप्रतिनिधिको घोषणा गर्नेछन्।’ निर्वाचन आयोगले ७७ जिल्लाका न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ।

निर्वाचन तालिका अनुसार आगामी ११ र १२ गते उम्मेदवारी दर्ता हुनेछ। १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ गते मनोनयन पत्र र उजुरी जाँचबुझ गरी १६ गते अन्तिम नामावली प्रकाशन हुनेछ। १७ गते आयोगले उम्मेदवारलाई चुनाव चिह्न दिने तयारी गरेको छ। वैशाख ३० गते हुने मतदानका लागि २७ गते मध्यरातदेखि मौन अवधि सुरु हुने आयोगले जनाएको छ।