खाेज्नुहाेस

बैतडीमा चुनावी चहलपहल बढ्यो

Image

बैतडी – आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चहलपहल बैतडीमा पनि बढेको छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् ।

उम्मेदवारको टुङ्गो नलगाएका भए पनि राजनीतिक दलहरुले आफ्नो पक्षमा मत तान्न गाउँगाउँ पुगेका छन् । मतदाता रिझाउनका लागि दलका नेताहरु गाउँगाउँ पुग्ने होडबाजी चलेको छ । मुख्य प्रतिस्पर्धीका रुपमा रहेका कांग्रेस र एमालेले चुनावी अभियानलाई तीव्रता दिएका छन् ।

attariya hospital

यसका साथै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपाले पनि स्थानीय तहहरुमा चुनावी अभियान सुरु गरेको छ ।
केन्द्र र प्रदेश सरकारमा गठबन्धनमा रहेका दलहरु पनि जिल्लामा भने एक्लाएक्लै चुनावी प्रचारप्रसार गरिरहेका छन । तालमेल गर्ने विषयमा टुङ्गो नलाग्दा एक्लाएक्लै प्रचारमा जुटेका हुन्। नेपाली कांग्रेसले केन्द्रीय कार्यक्रमअनुसार ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरिरहेको छ । पालिकास्तरको अभियान सकेर अहिले वडा तहमा अभियान सञ्चालन गरिएको छ ।

कांग्रेसका जिल्ला सभापति चतुरबहादुर चन्दका अनुसार निर्वाचन केन्द्रित भएर गाउँगाउँमा चुनावी अभियान सञ्चालन भइरहेको छ । उनले भने, ‘स्थानीय निर्वाचनमा पार्टीलाई बहुमत दिलाउनका लागि प्रत्येक वडा, टोल र घरमा पुग्ने अभियान सञ्चालन गरिएको छ । देशका ठूला परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा भएको र अब विकासको शृङ्खला पनि नेपाली कांग्रेसकै नेतृत्वमा जोड्नुपर्ने भएकाले अभियान सञ्चालन गरिएको हो ।’

सङ्गठन विस्तार र सुदृढीकरणका लागि अभियान सञ्चालन गरिएको र नेपाली कांग्रेस सिद्धान्त, नीति र विचारलाई आम मानिसमा पु¥याउनका लागि अभियान सञ्चालन भएको नेपाली कांग्रेस बैतडीले जनाएको छ । स्थानीय तहको निर्वाचनमा जिल्लामा आफ्नो पार्टीले बहुमत ल्याउने सभापति चन्दको दाबी छ । उनले भने, ‘हामीले अहिले पनि हरेक वडामा अभियान सञ्चालन गरिरहेका छौ । अभियानका दौरानमा पनि कांग्रेसप्रति लोभलाग्दो आकर्षण छ । त्यसकारण हामी बहुमत सिटमा जीत हासिल गर्छौ ।

navjiwan hospital

नेकपा एमालेले पनि निर्वाचन केन्द्रित भएर प्रचारप्रसारमा जुटिसकेको जनाएको छ । गाउँगाउँमा सङ्गठन विस्तार गर्नाका साथै चुनावी अभियानलाई तीव्रता दिएको एमाले बैतडीका सचिव चक्र कार्कीले बताए । उनले भने, ‘एमाले स्थानीय तहको निर्वाचनमा सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ अघि बढेको छ, जनमत हाम्रो पक्षमा नै आउँछ ।’

यस्तै नेकपा (माओवादी केन्द्र)ले पनि चुनावी अभियानलाई तीव्रता दिएको छ। माओवादीका जिल्ला इन्चार्ज नरेन्द्र कुँवरले देश अहिले माओवादीको एजेन्डामा चलिरहेको बताउँदै नेतृत्वको भूमिकामा पनि माओवादीलाई ल्याउनुपर्ने बताए । उनतले भने, ‘हामीले बोकेको एजेन्डामा देश चलिरहेको छ तर हाम्रो नेतृत्व नहुँदा परिवर्तन संस्थागत हुन सकेको छैन । त्यसैले हामीलाई नेतृत्व दिन सकेका छैनौँ ।’

आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाका १० वटै स्थानीय तहमा माओवादीको कुनै न कुनै रुपमा प्रतिनिधित्व हुने गरेर अघि बढिरहेको इन्चार्ज कुँवरले बताए । नेकपा (एकीकृत समाजवादी) पनि चुनावी अभियानमा व्यस्त रहेको छ । सो पार्टीका जिल्ला अध्यक्ष महादेव भट्टले सङ्गठन विस्तारका साथै चुनावी अभियानलाई तीव्रता दिएको बताए । उनले भने, ‘हाम्रो पार्टीप्रति नागरिकको आकर्षण रहेको छ, हामी निर्णायक शक्तिका रुपमा देखिन्छौँ ।’

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि घरदैलो अभियान सुरु गरिसकेको राप्रपाका जिल्ला अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए । गएको स्थानीय तहको निर्वाचनभन्दा यो निर्वाचनमा बढी सफलता मिल्ने उनको दाबी छ । उनले भने, ‘जनजागरण कार्यक्रम र घर फर्क अभियानलाई पनि सँगसँगै लगेर चुनावी प्रचारप्रसारमा जुटेका छौँ ।’

गएको स्थानीय तहको निर्वाचनमा बैतडीका १० स्थानीय तहमध्ये नेपाली कांग्रेसले ६, एमालेले तीन र माओवादी केन्द्रले एक स्थानीय तहमा विजयी भएको थियो ।

रासस