डडेल्धुरा – डडेल्धुरामा बन्दुक लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–४ का ४५ वर्षीय दलबहादुर पानको भरुवा बन्दुक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जंगली जनावर मार्नका लागि थापेको भरुवा बन्दुकको पासोमा परेर पानको मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले जानकारी दिए ।

डडेल्धुरा अस्पताल ल्याउँदै गर्दा बाटोमा नै पानको मृत्यु भएको उनले बताए । ‘भरुवा बन्दुकको पासोमा परेर उहाँको मृत्यु भएको देखिन्छ । पासो कसले थापेको हो भन्ने खुलेको छैन’ डीएसपी पालले भने, ‘यसबारेमा हामी अनुसन्धान गर्दैछौँ ।’
उनको शव अस्पतालमा राखिएको छ । घटनामा संलग्न रहेको हुनसक्ने भन्दै ४ जनालाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको डीएसपी पालले बताए । नियन्त्रणमा लिइएकाहरूको परिचय भने खुलाइएको छैन ।



















