खाेज्नुहाेस

बाजुरामा महिनावारी भएका शिक्षिका तथा छात्रा विद्यालय जान पाउने

Image

बाजुरा – बाजुरामा महिनावारी भएको बेला छात्रा तथा शिक्षिकाहरुले विद्यालय जान पाउने भएका छन । जिल्लाको बडीमालिका नगरपालिका–८ रतुडामा रहेको जनप्रकाश आधारभूत विद्यालयमा देवता रिसाउने डरले महिनावारी भएका बेला विद्यालय जान नपाउने छात्रा तथा शिक्षिकाहरु अब भने विद्यालय जान पाउने भएका हुन ।

शुक्रवार सोही नगरपालिका–८ को विद्यालयमा वडाध्यक्ष प्रकाश रावलको नेतृत्वको टोलीले स्थानीय बुद्धिजीवी तथा विभिन्न स्थानका धामीसँग परामर्श गरी देवता हेराउँदा विद्यालयमा प्रवेशमा कुनै बाधा नहुने गरी देवताले अनुमति दिइसकेको मष्टा देउताका पुजारी गंगा रावलले बताए ।

attariya hospital
navjiwan hospital

पटक–पटक विभिन्न सञ्चारमाध्यममा छाउ हुँदा शिक्षिका ५ दिनसम्म विद्यालय जादैनन् भन्ने समाचार आएपछि वडाले गाउँका बुद्धिजीवी, ज्येष्ठ नागरिक र कैलाश लगायतका धामीसँग परामर्श गरी हेराउँदा अबदेखि विद्यालय जान दिने गरी देवता खुशी भएका पुजारी रावलको भनाइ थियो ।

कैलाश देवता, भेराल मष्टालगायत अन्य देवताका धामीलाई हेराउँदा सबैले छाउ भएका छात्रा र शिक्षिकालाई विद्यालयमा जान दिन पाउने अनुमती प्रदान गरीएको उनले बताए ।

देवताका डरले महिनावारी हुँदा छात्रा तथा शिक्षिकाहरु ५ दिनसम्म विद्यालय नजाने गर्दथे । कु–प्रथाका रूपमा रहेको छाउपडी प्रथा अन्त्य गर्नका लागि बडीमालिका नगरपालिकाले महिलासँग उपप्रमुख कार्यक्रम ल्याएको थियो ।

कार्यक्रमअनुसार वडालाई छाउपडी गोठमुक्त घोषणा गर्ने तयारी थाल्नाका साथै शैक्षिक संस्थामा समेत शिक्षिकाले छाउ भएका बेला विद्यालय जान नपाउने समस्या समाधान गरिएकोे वडाध्यक्ष रावलले बताए ।