अत्तरिया – कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरका लागि गोपाल हमालले दोस्रो पटक उम्मेदवारी घोषणा गरेका छन । मेयरमा विजयी भए स्वयंसेवकको रुपमा काम गर्ने घोषणा गर्दै हमाल चुनावी मैदानमा होमिने घोषणा गरेका हुन ।
पहिलो इनिङका रुपमा २०७४ सालमा भएको स्थानीय चुनावमा दोस्रो स्थान हासिल गरेका हमालले आफ्नो दोस्रो इनिङमा भने सफल हुने अपेक्षा सहित मैदानमा उत्रिएका छन ।

दोस्रो पटक चुनावमा लड्ने घोषणा गरेका हमालले अन्तिम पटकका लागि मेयरमा उम्मेदवारी दिएको बताएका छन । ‘यो मेरो अन्तिमपटक हो । पटकपटक अब लड्दैन । एकपटक तपाईहरुले मलाई मौका दिनुपर्छ’ उनले भने ‘एकपटक मलाई परीक्षामा बस्न दिनुहोस्, पास भएन भने जे सजाय पनि भोग्न तयार छु ।’

उनले अघिल्लो निर्वाचनमा आफू दोस्रो भएपनि वितेका ४ बर्ष धनगढीका लागि के गर्न सकिन्छ भनेर योजना बनाएर बिताएको बताएका छन ।
उनले जनताको चाहना बमोजिम आफूले दल त्याग गरेर स्वतन्त्रमा उम्मेदवारी दिएको बताए । ‘पछिल्लो ६ महिनाको अवधिमा म धेरैको घरमा गए । सबैलाई, चुनाव लड्ने वा नलड्ने, लडेपछि के बाट लड्ने र तपाईं सहयोग गर्नुहुन्छ की गर्नुहुन्न ? भनेर मैले यी तीन प्रश्न गर्थे । जसले मैले मत सर्वेक्षण गरे’ उनले भने ‘मलाई अधिकांश साथीहरु र अभिभावहरुले तपाईंलाई हामीले स्वतन्त्रै रुपमा लिएका छौ र तपाईं स्वतन्त्र नै हुनुहोस भनेर भन्नुभयो । मैले सोही कुरालाई शिरोधार्य गरेर स्वतन्त्र हुने निर्णय गरे ।’
उनले धनगढीले आफूलाई नाम र दाम दिएकाले आफू यसको ऋण तिर्न चुनावमा होमिएको बताए । ‘यसै धनगढीले मलाईं यहाँसम्म पुगाएको हो । नाम र दाम पनि धनगढीबाटै प्राप्त भएको हो । ५ वर्ष धनगढीलाई स्वयमसेवकको रुपमा काम गरेर देखाउन मेरो इच्छा हो । म माटाको ऋण तिर्न चाहन्छु’ उनले भने ‘मैले धनगढी मोडेल स्थापित गर्ने भनेको छु । जसरी भारतमा केजरिवालले दिल्ली मोडेल बनाए, गुजरातमा मोदीले बनाए । हामी धनगढी मोडेल नेपालको लागि प्रारम्भ गर्छाै ।’
२०७४ सालमा भएको स्थानीय चुनावमा हमाल कांग्रेसका उम्मेदवारी नृप बहादुर वड संग पराजित भएका थिए । वडले १४ हजार ३२४ मत ल्याउदा स्वतन्त्रबाट लडेका हमालले ११ हजार ५२७ मत ल्याएका थिए । उक्त चुनावमा माओवादी केन्द्रका १० हजार २०९ र एमालेका दुर्गा प्रसाद जोशीले ९ हजार ९४६ मत ल्याएका थिए ।
स्वतन्त्र उम्मेदवारी दिएका हमाल २०७५ सालमा विवेकशील साझा पार्टीको सुदूरपश्चिम संयोजक बनेका थिए । हमालले उक्त पार्टीबाट साधारण सदस्य समेत नरहने गरी केहि दिन अगाडी राजिनामा दिइसकेका छन ।














