बैतडी – सौताको हत्या गरेको आरोपमा बैतडीबाट एक महिला पक्राउ परेकी छिन । दोगडाकेदार गाउँपालिका–२ मल्लागाउँकी ५५ वर्षीया नारु महरा सौताको हत्या गरेको आरोपमा पक्राउ परेकी हुन ।

नारुलाई उनकी सौता ४० वर्षीया चन्द्रा महराको हत्याको आशंकामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । चन्द्राका माइती पक्षले दिएको जाहेरीका आधारमा नारुलाई नियन्त्रणमा लिइएको हो ।

निरीक्षक शाहीले भने, ’पक्राउ परेकी नारुले हत्या स्वीकार गरिसकेकी छन्, म्याद थप गरेर अनुसन्धान गर्दैछौं ।’ चन्द्रा माघ १८ गते घर नजिकैको खाली घरमा मृत फेला परेकी थिइन् । उनको घाँटी र मुखमा चोट थिए ।
नारुले घटना हुनुअघि पनि चन्द्रालाई कुटपिट गर्ने गरेकी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनका पतिको यसअघि नै मृत्यु भइसकेको छ । नारुका कुनै सन्तान छैनन् भने मृतक चन्द्राका एक छोरा र एक छोरी रहेका छन् ।


















