खाेज्नुहाेस

डडेल्धुराको एक विद्यालयबाट अबैध १८८ क्युफिट काठ बरामद

Image

डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिका–५ स्थित भुवनेश्वरी नमूना मावि परिगाउँ परिसरबाट अवैध काठ बरामद भएको छ । डिभिजन वन कार्यालय डडेल्धुराले सिसम र हल्दोका गरि १८८.८० क्युफिट काठ बरामद गरेको हो ।

प्रारम्भिक विवरण अनुसार सिसमका आठ र हल्दोका दुई रूख काटिएको पाइएको अनुसन्धान अधिकृत सन्तोष भट्टले बताए । उनका अनुसार सिसमका आठ रुखको ४५.०६ क्युफिट र हल्दोको १४३.७४ क्युफिट काठ बरामद गरिएको हो ।

attariya hospital

विद्यालयको भवन निर्माणका लागी ठेक्का सम्झौता भएको र भवन बनाउने स्थानमा एउटा सिसिमको रुख परेकाले जरासहित उखेको विद्यालयका प्रध्यानाध्यापक डम्बर सिंह थ्वालले बताए । उनले वडा कार्यालयबाट रुख कटानका लागि वन कार्यालयलाई सिफरिस गरे पनि वन कार्यालयको निर्णयअघि नै रुख कटान गरेको बताए ।

navjiwan hospital

सिसम, साल, खयर र हल्दोका साना ठूला गरी धेरै रुख कटान गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य केशव नाथले बताए । रुख काट्ने विषयमा आफूलाई कुनै जानकारी नभएको र प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, वडाअध्यक्ष र वन कार्यालयको मिलेमतोमा कटान गरिएको उनको भनाइ छ ।

‘धेरै रूख कटान भएको छ । विद्यालय प्रयोजनको लागि काटिएको होइन् । यदि विद्यालय प्रयोजनका लागि कटान हुन्थ्यो भने मलाई पनि जानकारी हुनुपर्थ्यो। तर, जानकारी छैन्,’ उनले भने, ‘कटान गरिएका रुख राति नै डोजर प्रयोग गरी खाडलमा पुर्ने काम भएको छ । कतिपय काठ नजिकैका स्थानीयको घरमा लुकाएर राखिएको छ ।’

डिभिजन वन कार्यालयले देखाउनको लागि मात्रै काठ बरामद गरेको उनी बताउँछन् । परशुरामधाम सब डिभिजन कार्यालय जोगबुडाका कर्मचारीले मौखिक रुपमा रुख कटान गर्न अनुमति दिएको स्थानीय बताउँछन् ।

काठ तस्करीमा संलग्न केही व्यक्तिको घरमा काठ राख्न लगाएर डिभिजन वन कार्यालय डडेल्धुराले व्यक्ति स्वयंको देखाउन खोजेको उनीहरुको भनाइ छ । विद्यालयले रुख कटान गरेपछि तीन हजार हालेर दाउरा खरिद गरेको स्थानीय हरि नाथले बताए ।

रुख कटान गरिएको विषयमा सोधपुछ गर्न डिभिजन वन कार्यालयले भुवनेश्वरी नमूना मावि परिगाउँका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई नियन्त्रणमा लिएको छ । डिभिजन वन कार्यालयको अनुमतिविना विद्यालय परिसरभित्रका रुखहरू कटान गरिएपछि उनीहरूलाई सोधपुछ गर्न नियन्त्रणमा लिएको जिल्ला वन अधिकृत रामविचारी ठाकुरले बताए ।