खाेज्नुहाेस

डोटीमा इन्जिनियरिङ क्याम्पस बनाउन नगरपालिकाले दियो १२० रोपनी जग्गा

Image

डोटी – डोटी जिल्लामा इन्जिनियरिङ विषय पढाइ हुने क्याम्पसका लागि जग्गा हस्तान्तरण भएको छ । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान अन्तरगत खप्तड इन्जिनियरिङ क्याम्पस सञ्चालनका लागि दिपायल सिलगढी नगरपालिकाले एक सय २० रोपनी जग्गा खरीद गरी विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ । विश्वविद्यालयले क्याम्पसका लागि स्थानीय तहले जग्गा उपलव्ध गराउनु पर्ने भनेपछि दिपायल सिलगढी नगरपालिकाले जग्गा खरीद गरी हस्तान्तरण गरेको हो ।

navjiwan hospital

‘इन्जिनियरिङ क्याम्पसलाई आवश्यक पर्ने जग्गा नगरपालिकाले खरीद गरी हस्तान्तरण गरेको छ’ नगर प्रमुख मन्जु मलासीले भनिन्, ‘अब क्याम्पसको भौतिक पूर्वाधार निर्माणको कार्य औपचारिक रुपमा अगाडि बढेको छ ।’ उनले दिपायल सिलगढी नगरपालिका–६ मा जग्गा खरीद गरिएको बताइन् । स्थानीयवासीसग एक सय २० रोपनी जग्गा खरीद गरी खप्तड इन्जिनियरिङ क्याम्पसका नाममा नामसारी समेत भइसकेको नगर प्रमुख मलासीले बताइन् ।

attariya hospital

क्याम्पसको जग्गाको जग्गाधनी प्रमाणपूर्जा बुझ्दै त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि तथा डोटी बहुमुखी क्याम्पसका प्रमुख डिलानन्द जोशीले विश्वविद्यालयको आंगिक क्याम्पस स्थापना हुन लागेको बताए । उनले जग्गा खरीद गर्नका लागि नगर प्रमुखले गरेको प्रयासको प्रशंसा गर्दै स्थानीय सरकारको सक्रियताले डोटीमा प्रदेशस्तरको इन्जिनियरिङ क्याम्पस बन्न लागेको बताए ।

जग्गा हस्तान्तरण कार्यक्रममा मालपोत कार्यालय डोटीका नायब सुब्बा सिद्धराज श्रेष्ठले एक सय २० रोपनी जग्गा क्याम्पसको नाममा नामसारी भइसकेको र थप १० रोपनी प्रक्रियामा रहेको बताए । उनले कानूनी प्रक्रिया पूरा गर्दा केही समय लागेको बताए ।