खाेज्नुहाेस

दिपायल विमानस्थल स्तरोन्नति हुने

Image

डोटी – सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलको स्तरोन्नोति हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विमानस्थलको स्तरोन्नतिका लागि  १८ करोड रुपैयाँ बजेट विनियोजन गर्नुभएसँगै विमानस्थल स्तरोन्नतिको लागि अध्ययन गर्न टोली दिपायल आइपुगेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीले विमानस्थल वरपरको जग्गा अधिग्रहण गर्नुपर्ने जमिनको अवलोकन गरेको दिपायल विमानस्थलले जनाएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक रत्नबहादुर श्रेष्ठको नेतृत्वमा आएको टोलीले दिपायल विमानस्थलको स्तरोन्नतिका लागि अध्ययन गरिरहेको बताइएको छ ।

attariya hospital

टोलीले यहाँका जनप्रतिनिधि, समाजसेवी, नागरिक समाज, सञ्चारकर्मीसँग विमानस्थलको स्तरोन्नतिका विषयमा राय सुझाव मागेको दिपायलका स्थानीयवासी भरत द्धारीयाले बताउ ।

उनले भने ‘मन्त्रीज्यूले बजेट विनियोजन गर्नुभएसँगै विमानस्थल विस्तारका लागि अध्ययन टोली आएको छ, राय सुझाव मागेको छ, अब त ठूलो जहाज चल्छ कि खुशी लागेको छ ।’ विमानस्थल स्तरोन्नति तथा जग्गा अधिग्रहणसहित १८ करोड रुपैयाँ बजेट विनियोजन भएसँगै यो विमानस्थलमा ठूलो जहाज चल्नेमा यहाँका नागरिकहरु निकै खुशी भएका छन् ।

navjiwan hospital

अनुगमनका लागि आएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक श्रेष्ठले दिपायल विमानस्थललाई थ्री सी वर्गको विमानस्थलका रुपमा स्तरोन्नति गर्ने योजना रहेको बताए । उनले भने ‘थ्री सी वर्गको विमानस्थलका रुपमा स्तरोन्नति गर्ने योजना अनुसार काम अगाडि बढाउने योजना छ, यो काम सम्पन्न भए दिपायलमा ७२ सिटे जहाज उडाउन सकिनेछ ।’

अहिले दिपायल विमानस्थलको धावनमार्ग (रन–वे) जम्मा ४५० मिटर मात्र रहेकोमा स्तरोन्नतिका लागि एक हजार २०० मिटर लम्बाइ चाहिने अध्ययन अनुगमनमा आएको प्राविधिक टोलीले जनाएको छ । धावनमार्गको दुवैतर्फ गरी १५० मिटर चौडाइ आवश्यक पर्ने टोली सदस्य नलविक्रम थापाले जानकारी दिनुभयो । धावनमार्गको अहिलेको चौडाइ जम्मा ६५ मिटर मात्र भइरहेको बताइएको छ ।

अहिले विमानस्थल रहेको बायाँतर्फको एयरपोर्ट बजार पूरै विस्थापित हुने तथा दक्षिणतर्फ घटाल मन्दिरको छेउ र उत्तरतर्फ वडा नं २ को कार्यालयको खोलासम्म अधिग्रहण गर्नुपर्ने प्रारम्भिक चरणमा देखिएको प्राविधिक टोलीले जानकारी दिएको छ ।

विमानस्थल स्तरोन्नतिका लागि आवश्यक पर्ने जमिन अधिग्रहणका लागि यहाँका नागरिकहरुले पनि सहमति दिएको दिपायल सिलगढी नगरपालिका–२ का वडाअध्यक्ष राजेन्द्र खड्काले बताए । उनले भने ‘विमानस्थल स्तरोन्नतिका लागि यहाँका स्थानीयवासी पनि सहमत भएका छन्, स्तरोन्नतिको काम चाँडो गर्नुपर्छ ।’