अत्तरिया – अत्तरिया उद्योग बाणिज्य संघले सुदूरपश्चिम प्रदेशका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक (एसपी) बामदेव गौतमको विदाई तथा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक (डिएसपी) नवराज सापकोटाको स्वागत गरेको छ । संघले एक औपचारीका कार्यक्रमको आयोजना गरी स्वागत तथा विदाई कार्यक्रम गरेको हो ।
संघको कार्यालयमा भएको कार्यक्रममा बोल्दै एसपी गौतमले आफूले १७ महिना अत्तरियामा बस्दा पारिवारीका वातावरण पाएको बताए । उनले यस क्षेत्रको ट्राफिक व्यवस्थापनमा आफुले सकेजतिको प्रयास गरेको बताए । उनले सुदूरपश्चिममा पहिलेको तुलनामा सडक संजालमा धेरै विकास भएकाले ट्राफिक प्रहरीको काम पनि बढेको बताए ।


‘यस प्रदेशमा बिशेष गरेर कैलाली, कञ्चनपुरमा ट्राफिक चाप बढी छ । त्यसमा पनि राजधानी तोकिएको क्षेत्र अत्तरियामा बढी चाप छ’ उनले भने ‘अत्तरिया चौराहमा ट्राफिक व्यवस्थापन गर्नका लागि ट्राफिक लाईटको आवश्यकता छ ।’
उनले आफ्नो कार्यकालमा ट्राफिक बुथ विस्तार गर्ने, सिसिटिभी क्यामेर जडान गर्ने, जनचेतनाका कार्यक्रम आयोजना गर्ने लगायतका काम गरेको बताए ।
उनले सुदूरपश्चिममै पहिलो पटक ट्राफिक तालिमको आयोजना गरेको बताए । ‘पहिले काठमाण्डौंमा मात्रै तालिमको आयोजना हुँदा यस क्षेत्रबाट थोरै जनाको सहभागित हुने गरेको थियो’ उनले भने ‘काठमाण्डौंमा तालिम गराउँदा २÷३ जनाले मात्रै अवसर पाउँन्थे । अहिले यही तालिम गराउँदा एकै चोटी ३० जना जनशक्ति तयार भएका छन ।’
उनले यस क्षेत्रको जनघनत्वो र सवारी चाप अनुसारको ट्राफिक प्रहरीको दरबन्दी नहुँदा भने काम गर्न समस्या हुने गरेको बताए ।
एसपी गौतमको काठमाण्डौं उपत्यका प्रहरी कार्यालय ईनटेलिजेन्स शाखामा सरुवा भएको छ भने उनको ठाउँमा नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँकेबाट प्रविण धिताल आउने जनाइएको छ ।


कार्यक्रममा बोल्दै २ महिना अगाडी इलाका प्रहरी कार्यालय मालाखेतीको कमाण्ड समालेका डिएसपी सापकोटाले यस क्षेत्रको सुरक्षाका लागि आफू कटिबद्ध रहेको बताए । उनले अत्तरिया क्षेत्र सुरक्षाका दृष्टिकोणले संबेदनशिन क्षेत्र भएकाले यस क्षेत्रको सुरक्षाको जिम्मेबारी पुरा गर्न स्थानीयको पनि साथ सहयोगको आवश्यकता रहेको बताए ।
‘अत्तरियामा सबैभन्दा बढी हुने समस्यामा सवारी दुर्घटना, लागुऔषध दुव्र्यसनी, चोरीका साथै अबैध क्रियाकलाप हुने गरेका छन’ उनले भने ‘म यसको नियन्त्रणका लागि परेको छु । यो काम गर्दै गर्दा देखिदै जान्छ ।’

उनले अत्तरिया बजार क्षेत्रमा चोरीको समस्या अलि बढी देखिएकाले यसको नियन्त्रणका लागि आफूले प्रहरीको छुटै टिम बनाएको बताए । उनले भने ‘चोरी नियन्त्रणका लागि एउटा प्रहरीको रेस्पोन्स टिम बनाएका छौ ।’

स्वागत तथा विदाई कार्यक्रममा बोल्दै अत्तरिया उद्योग बाणीज्य संघका अध्यक्ष अशोक राज देवकोटाले एसपी गौतमको कार्यकालमा प्रदेशको ट्राफिक व्यवस्थापनमा उत्कृष्ट काम सम्पन्न भएको बताए । उनले एसपी गौतमले स्थानीय संगको सहकार्यमा यस क्षेत्रका छाडा गाईगोरु व्यवस्थापन र सवारी व्यवस्थापनका काममा सहकार्य गरेर धेरै सुधारका काम गरेको बताए ।
उनले डिएसपी सापकोटाले पनि यस क्षेत्रको सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउने अपेक्षा लिएको बताए । ‘अत्तरिया चोक भनेको ७ जिल्लाको ट्रान्जिट पोइन्ट पनि हो । यो क्षेत्रमा धेरै सुरक्षा चुनौती छन । अत्तरियामा चोरी, बेश्यावृति, जुवातासका समस्या छन’ उनले भने ‘डिएसपी सापले धेरै तडक भडक नगरी यी समस्या सामाधानका लागि काम गर्नुहुनेछ भन्ने आशा लिएका छौ ।’
अत्तरिया उद्योग बाणिज्य संघले १७ महिना अत्तरियामा बसेका एसपी गौतमलाई मायाको चिनो प्रदान गरी विदाई गरेका थिए भने डिएसपी सापकोटालाई फुल माला र खादा लगाएर स्वागत गरेको थियो ।
उक्त स्वागत तथा विदाई कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष कल्याण सिह बोहरा र उपाध्यक्ष कवि राज भट्टले स्वागत मन्त्यव्य राखेका थिए भने महासचिव यज्ञ राज जोशीले कार्यक्रमको संचालन गरेका थिए । कार्यक्रममा संघका पदाधिकारी, कर्मचारी शुरक्षा निकायका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
















