अत्तरिया – कैलालीको गोदावरी धाममा माघ १ गते देखि हुने अर्धकुम्भ मेला स्थगित भएको छ । गोदावरी धाम विकास समितिले २०७२ सालदेखि बार्षिक रुपमा औपचारीक कार्यक्रम गरी आयोजना गर्दै आएको कुम्भ मेला कोरोना महामारीका कारण स्थगित गरिएको हो ।
समितिले २०७२ सालमा महाकुम्भ मेला आयोजना गरेपछि त्यसपछिका बर्षमा माघ १ गते कुम्भमेला आयोजना गर्दै आएको थियो भने यस बर्ष महाकुम्भ मेला आयोजना भएको ६ बर्ष पुगेकाले अर्धकुम्भ मेला आयोजना गरिने जनाइएको थियो ।


गोदावरीधाम विकास समितिले सोमबार एक प्रेश विज्ञप्ती जारी गर्दै भौतिक रुपमा गरिने सम्पुर्ण कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।
‘पवित्र देवभूमिको प्रवेशद्धार पश्चिम नेपालमा स्थित प्रसिद्ध तीर्थस्थल गोदावरीधाम कैलालीमा यस बर्ष २०७८ माघ महिनामा आयोजना हुने भनिएको गोदावरी अर्ध कुम्भ मेलाका भौतिक रुपमा गरिने सम्पुर्ण औपचारिक कार्यक्रमहरु कोरोना महामारीका कारण सुदूरपश्चिम प्रदेश सरकार र जिल्ला प्रशासनको परामर्शमा स्थगित गरेका छौ’ गोदावरीधाम विकास समितिद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ ‘तर, कुम्भमेलाको परम्परालाई निरन्तरता दिन गरिने गंगा पुजन, कलश पुजन, पंचाङ्ग पुराण पारायण, लक्ष्यहवन आदि धार्मिक अनुष्ठानहरु सांकेतिक रुपमा सरकारले तोकेका मापदण्डहरुको पालना गर्दै सम्पादन गर्नेछन ।’
गोदावरीधाम विकास समितिका अध्यक्ष पद्मराज जोशीद्धारा जारी विज्ञप्तीमा धार्मिक गतिविधिहरु अनलाइन विधिबाट प्रशारण गरिने जनाइएको छ ।

















