बाजुरा– बाजुराको त्रिवेणी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता–पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ नारासहित त्रिवेणी नगरपालिलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

पूर्ण खोप पालिका घोषणा केवल, एक औपचारिक उपलब्धि मात्र नभई, यो बालबालिकाको सुरक्षित भविष्य, स्वस्थ समुदाय र जिम्मेवार स्थानीय स्वास्थ्य प्रणालीको सशक्त आधार बनेको स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत कुमार न्यौपानेले जानकारी दिए । उनले यसले प्रत्येक बालबालिकाले समयमै पूर्ण खोप पाउने सुनिश्चित गर्दै खोप सेवाको दिगोपना, नियमित अनुगमन र समुदायको निरन्तर सहभागितालाई अझ मजबुत बनाउने अपेक्षा लगिएको बताएका हुन् ।

कार्यक्रममा पालिकाका स्वास्थ्य शाखा प्रमुख चिरञ्जीवी प्रसाद शाहले पूर्ण खोप सुनिश्चिततासम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन स्वास्थ्य कार्यालय बाजुरालाई औपचारिक रूपमा हस्तान्तरण समेत गरिएको हो । यस महत्वपूर्ण शुरूआतका लागि स्वास्थ्य कार्यालय बाजुराले, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, सरोकारवाला निकाय तथा सम्पूर्ण समुदायप्रति हार्दिक आभार व्यक्त गरेको छ । कार्यालयले सफल कार्यान्वयन, निरन्तरता र दिगोपनाका लागि हार्दिक शुभकामना व्यक्त समेत गरेको छ ।



















