काठमाण्डौं – सहकारी क्षेत्रमा सन्दर्भ ब्याजदर वृद्धिको चर्चा चलिरहेकै बेला भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ब्याजदर नबढ्ने बताएकी छिन् । बरु कर्जाको ब्याजदर घटाएर सदस्य लगानीकर्ताहरुलाई सुविधा दिनुपर्ने मन्त्री श्रेष्ठको भनाई छ ।
शुक्रबार राजधानीमा आयोजित नेपाल सहकारी पत्रकार समाजको ११ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले पछिल्ला दिनहरुमा सहकारी संघ–संस्थाहरु पैसा ब्याजमा लगानी गरेर खाने बैंक जस्तो भएको बताएकी छिन् ।


‘पछिल्ला दिनहरुमा सहकारी उद्देश्यविहिन जस्तै भएका छन् । सहकारीको मर्म के हो ? उद्देश्य तथा लक्ष्य के हो ? केही पनि थाहा छैन । सहकारीको बाटो एकातिर छ तर संस्थाहरुको गन्तव्य अर्कै तिर भइरहेको छ’ मन्त्री श्रेष्ठले भनिन्, ‘यसलाई रोक्न आवश्यक छ ।’
सहकारी संघ संस्थाहरु सदस्यहरुको वृद्धि विकासमा भन्दा पनि नाफा कमाउनेतर्फ उद्दत भएको तर्फ इंगित गर्दै मन्त्री श्रेष्ठले ब्याजदरमा कसेर सदस्य ठग्ने सहकारीको काम नभएको बताइन् । सन्दर्भ ब्याजदरकै विषयमा बोल्दै मन्त्री श्रेष्ठले बढाउने भन्दा पनि बरु घटाउनुपर्ने बताइन् ।
हाल सहकारीको सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत रहेको छ ।
















