खाेज्नुहाेस

नेपालको पक्कीपुल र सुख्खा बन्दरगाहको विषयमा भारतमा चर्चा

Image

कञ्चनपुर – भारतमा आसन्न विधानसभा निर्वाचनको प्रचारप्रसारमा नेपालको पनि चर्चा हुने गरेको छ ।

महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्कीपुल र दोधारा–चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहका विषयमा सत्तारूढ भारतीय जनता पार्टीका नेताहरूले चर्चा गरेका हुन ।

attariya hospital

भारतको हिन्दी दैनिक पत्रिका अमर उजालाको बुधबारको नैनीताल संस्करणका अनुसार मंगलबार सीमावर्ती उत्तराखण्ड राज्यको खटिमा बजारमा आयोजित भारतीय जनता पार्टीको विजय संकल्प यात्राको समापनमा केन्द्रीय रक्षा राज्यमन्त्री अजय भट्टले महाकालीमा निर्माणाधीन पक्की पुलले सडक यातायातका माध्यमबाट उत्तराखण्ड क्षेत्रलाई काठमाडौंसम्म जोड्ने बताएका हुन ।

navjiwan hospital

‘महाकालीमा पक्कीपुल निर्माणाधीन अवस्थामा छ, हामी पनि सीमासम्म सडक निर्माणको प्रक्रियामा छौं’ नैनीताल क्षेत्रका सांसदसमेत रहेका राज्यमन्त्री भट्टले भने, ‘त्यसपछि सोझै काठमाडौंसँग सम्पर्क हुनेछ, सडक यातायातबाट सहजै आउजाउ गर्न सकिनेछ ।’

कञ्चनपुरको दोधारा–चाँदनीमा सुक्खा बन्दरगाहको निर्माणका लागि नेपालतर्फ महाकाली नदीमा चार लेनको पक्की पुलसँगै ६ लेनको पहुँच मार्ग निर्माणाधीन अवस्थामा छ । नेपाल–भारत सीमासँगै जोडिएको दोधारा–चाँदनी नगरपालिका–१ को मायापुरी सामुदायिक वन र गौरीशंकर सामुदायिक वनमा सुक्खा बन्दरगाह निर्माणको तयारी भइरहेको छ ।

भारतले पनि सीमासम्मै सडक निर्माणलगायत एकीकृत जाँचचौकी निर्माणका लागि आवश्यक तयारी बढाएको छ । यही विषयलाई लिएर चुनावी प्रचारप्रसारमा समेत केन्द्रीय राज्यमन्त्री भट्टले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई छिट्टै निर्माण कार्य हुनेबारे आश्वस्त पार्न खोजेका हुन ।

उक्त कार्यक्रममा भारतका पारवहन तथा सडकमन्त्री समेत रहेका भारतीय जनता पार्टीका पूर्वअध्यक्ष नितिन गडकरीले उत्तराखण्ड क्षेत्रमा सडक निर्माणको काम तीव्र गतिमा चलिरहेको बताए ।

उनले टनकपुरदेखि लिपुलेकसम्म ३६६ किलोमिटर सडक निर्माणाधीन छ र यसका लागि ५ हजार करोड बजेट विनियोजन गरिएको बताए । ‘एक वर्षभित्र मानसरोवरसम्म सडक निर्माण पूरा हुनेछ’ उनले भने, ‘अब एकै दिनमा खटिमाबाट मनसरोबर पुगेर फर्किन सकिनेछ ।’ (कान्तिपुरबाट)