धनगढी – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकार वन निर्देशनालय धनगढीका निमित्त वन निर्देशक हेम राज बिष्टविरुद्ध करोडौंको भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले बुधबार निर्देशक बिष्टविरुद्ध ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अनुसन्धानका क्रममा बिष्टले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा आर्थिक अनियमितता गरेको अख्तियारको दाबी छ ।
आयोगका अनुसार आर्थिक कार्यक्रम अन्तर्गत सामुदायिक वन उपभोक्ता समुहका साधारण सदस्यहरु र पदाधिकारीहरुले किर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने र एउटै घरलाई एकभन्दा धेरै वन उपभोक्ता समुहमा सदस्य बनाइ रुख कटान गर्ने गरेको भन्ने विषयमा छानबिन गर्दा भ्रष्टाचार देखिएको हो ।


यस विषयमा सार्वजनिक लेखा समितिको उपसमितिद्वारा गठित वैज्ञानिक वन ब्यवस्थापन अध्ययन उपसमितिले समेत दोषीमाथि छानबिन गरी कारबाही गर्न माग गरेको थियो ।
विसं २०५५ वैशाख १७ गते वन सेवाअन्तर्गतको सेवामा प्रवेश गरेका बिष्टले २०५५ देखि २०७७ सम्म सिर्जित गरेका सम्पत्ति एवं खर्च तथा लगानीहरुमा गरिएको कूल खर्च र सोही अवधिको आयव्ययको प्रवाह विवरण अनुसार जाँच गर्दा झण्डै ७ करोड अकूत सम्पत्ति आर्जन गरेको अख्तियारको भनाइ छ ।
अख्तियारले बिष्टले सार्वजनिक सेवामा पदको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी श्रीमती रुबी जिसी बिष्टको नाममा समेत राखेको पाइएको भन्दै रुबीलाई समेत प्रतिवादी बनाइ मुद्दा दर्ता गरेको छ ।















