धनगढी – नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सुदूरपश्चिम प्रदेश सरकार आफ्नो पार्टीका कार्यकर्तालाई मात्र लाभ गर्ने कार्य गरिरहे गठवन्धनको बारेमा सोच्नुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य नैनसिंह महरले सो कुरा बताएका हुन् । केन्द्रीय सदस्य नैनसिंह महरले भने, ‘सुदूरपश्चिम प्रदेश सरकारको यदि विकल्प खोज्ने होइन्, यदि जनता र काँग्रेसको पक्षमा काम गर्ने होइन् आफ्नो पार्टीका कार्यकर्तालाई मात्र लाभ गर्ने काम गरीरहने हो भने गठबन्धनको बारेमा सोच्नुपर्छ ।’

‘सुदूरपश्चिम प्रदेशको सबै ठाउँमा पुग्दा प्रदेश सरकारको बारेमा पहिलो जनताको रिएक्सन छ, काँग्रेसका साथीहरुको त असाध्यै ठूलो चिन्ता र चासो छ’ केन्द्रीय सदस्य नैनसिंह महरले भने, ‘प्रदेश सरकारबाट काँग्रेसले सबैभन्दा दुःख पाएको छ । प्रदेश सरकारले नेपाली काँग्रेसका साथीहरुलाई विकासका दृष्ट्रिकोणले पेलेको छ ।’
उनले सरकार भ्रष्ट्राचारको दलदलमा फसेकोकाले यसमा भन्नु केही लाज नभएको बताए ।

‘पहिले नै २५÷३० प्रतिशत पैसा बुझेर आफैले साइन गरेर उपभोक्ता समिति निर्माण गरेर सुदूरपश्चिम प्रदेश सरकार जनताको बिरुद्धमा रहेको छ । गठवन्धन निर्माणपछि सुदूरपश्चिम प्रदेश सरकारको बारेमा पटक–पटक कुरा उठेको छ’ केन्द्रीय सदस्य नैनसिंह महरले भने, ‘सरकारको विषयमा मात्र होइन्, सरकारले गरेका गलत रवैयाको कारण ।’
उनले सुदूरपश्चिमका ९९ प्रतिशत नेपाली काँग्रेसका नेता कार्यकर्ता प्रदेश सरकारको खिलाफमा रहेको बताए । उनले अहिले सुदूरपश्चिममा टुटफुट भएपनि कांग्रेसको सरकार बन्ने अवस्था रहेको बताए ।
‘भागवण्डाको अवस्थामा केन्द्रीय गठवन्धन बरकरार राख्नका लागि हामीले अन्य प्रदेशमा सहयोग गर्दैगर्दा यहाँ पनि बन्न सक्छ’ उनले भने, ‘त्योभन्दा पनि अनिवार्य सर्त काँग्रेसको सरकारमा सहभागिता हुनुपर्छ ।’
सुदूरपश्चिम प्रदेश सरकारमा अहिले गठवन्धन भित्रका नेकपा माओवादी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सम्मिलित सरकार रहेको छ ।
















